आरके श्रीवास्तव,कटहरिया १८ गते जेठ ।
रौतहट । शिक्षा क्षेत्रमै नयाँ कीर्तिमान राख्दै रौतहटको मौलापुर नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । शिक्षालाई उच्च प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको मौलापुरलाई ‘प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल’ द्वारा उत्कृष्ट नगरपालिकाको रूपमा चयन गरिएको हो ।

संस्थाले गठन गरेको पाँच सदस्यीय विज्ञ टोलीले मुल्यांकन गरेका २५ वटा शैक्षिक मापदण्डहरूमा मौलापुर नगरपालिकाले अन्य नगरपालिकाहरूलाई उछिन्दै अग्रस्थान हासिल गरेको हो ।
यस उपलब्धिसँगै, मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा आफ्नो प्रतिबद्धता र मेहनत प्रमाणित गरेको छ । यही जेठ २३ गते हुने एशोसिएसनको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिने जनाइएको छ ।
स्थानीय सामुदायिक विद्यालयहरूमा सुधार, गुणस्तरीय शिक्षामा पहुँच र विद्यार्थी हितमा संचालित कार्यक्रमहरूले मौलापुरलाई यो सम्मान दिलाउन सहयोग पुर्याएको बताइएको छ। साभार: स्थानीय पोष्ट साप्ताहिक
Sthaniya News
