रौतहट, साउन ३१ गते।
अनलाइन माध्यम (Zoom) मार्फत “बज्जिका साहित्य श्रृंखला-८” कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। यसपटक कार्यक्रमको मूल विषय चर्चित साहित्यकार विजय यादव ‘निर्विज’ द्वारा लिखित बज्जिका उपन्यास ‘प्रतिमा’ माथि केन्द्रित रहेको थियो।
कार्यक्रमको सभापतित्व बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा भाव शिरोमणि श्री रामचन्द्र कुशवाहा ज्यू गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित समाजसेवी तथा साहित्यप्रेमी बिन्दा साहनी उपस्थित रहनुभएको थियो। विशिष्ट अतिथिको रुपमा गोरखापत्र दैनिक बहुभाषिक पृष्ठका संयोजक संजय साह मित्र ,बज्जिका संगम, रौतहटका अध्यक्ष किसुन दयाल यादव ज्यू ले विशेष भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य कवि तथा साहित्यकार रामविश्वास कुशवाहा ज्यू ले आफ्नै कविता प्रस्तुति मार्फत गर्नुभएको थियो, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
उपन्यास ‘प्रतिमा’ सम्बन्धमा गहन चर्चा–परिचर्चा गर्दै नेपाल र भारतका ख्यातिप्राप्त विद्वान् तथा समीक्षकहरूले आफ्नो विचार राख्नुभएको थियो। समीक्षक को रूपमा अजय कुमार झा ज्यू तथा भारतका ज्वाला सन्ध्या पुष्प ज्यू ले उपन्यासको विविध पक्षमाथि विश्लेषणात्मक समीक्षा गर्नुभयो।
यसैगरी, डॉ. पुष्पा गुप्ता (भारत), राम आधार पासवान, चन्द्रशेखर रस्तोगी , सुरेश वर्मा भारत , विगन रौनियार रौतहट , सिद्धान्त चौधरी महोत्तरी लगायतका साहित्यकारहरूले पनि उपन्यासबारे महत्वपूर्ण धारणा राख्नुभएको थियो।
कार्यक्रममा विशेषगरी कृतिकार स्वयं विजय यादव ‘निर्विज’ को साहित्यिक योगदानप्रति उच्च प्रशंसा गरिएको थियो।
समापन सत्रमा कार्यक्रमका सञ्चालक संजय महतो राजले सम्पूर्ण सहभागी, साहित्यकार, अतिथि तथा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो।
Sthaniya News
