Breaking News
गौरमा सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिको विशाल विरोध ऱ्याली तथा जनप्रदर्शन

गौरमा सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिको विशाल विरोध ऱ्याली तथा जनप्रदर्शन

आरएन पटेल
रौतहट, भदौ ८ गते।
रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आइतबार विशाल विरोध ऱ्याली सहित जनप्रदर्शन गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा विभिन्न निकायले छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, वास्तवीक दोषी आजपा अध्यक्ष प्रभु साहलाई कार्यवाही गर्नुपर्ने माग राख्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटले विशाल जनप्रदर्शन गरेको हो।

गौर घटना राजनीतिक घटना भएपनि राजनीतिक प्रतिशोध साध्ने नियतले सरकारले उपेन्द्र यादव सहितका नेतालाई फसाउन खोजेको भन्दै जसपा नेपाल, नेकपा एमाले, कांग्रेस, लोसपा नेपाल, नेकपा एसका नेताहरुले आइतबार विरोध प्रदर्शन गरेको हो।
गौरको रामजानकी धर्मशालाबाट निस्केको रैली गौर परिकारमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो।
रैलिमा उनीहरूले सरकारले राजनीतिक प्रतिशोध साध्न पाइँदैन, उपेन्द्र यादव लगाएतका निर्दोष नेतालाई झुठा मुद्दामा फसाउन पाइँदैन, झुठा मुद्दा खारेज गर, गौर घटनाको निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई कार्यवाही गर, मानव अधिकार आयोग लगाएतका निकायले गरेको छानबिनको प्रतिवेदन सार्वजनिक गर लगाएतका नारा लगाएका थिए।


मधेशी क्रान्ति चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक रामकिशोर प्रसाद यादवले ओली सरकारले राजनीतिक प्रतिशोध साध्ने नियतले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन्।
मधेश बिरोधी रहेको भूमि सम्बन्धी अध्यादेश हुबहु पास हुन नदिन पार्टी अध्यक्ष उपेन्द्र यादवले चट्टानी अडान लिएपछि आत्तिएका ओली सरकारले भूमि अध्यादेश पास गराउन सर्वोच्चबाट परमादेश जारी गराई उपेन्द्र यादवलाई तर्साउन र डराउन खोजेको नेता यादवले बताए।
भूमि सम्बन्धी अध्यादेश पास गराउन सहयोग नगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जना निर्दोष नेतालाई गौर घटनामा सुनियोजित तरिकाले फसाउने खोजेको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन उर्फ राजु यादवले आरोप लगानेका छन।
राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकार आयोग लगाएत विभिन्न उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार गौर घटनाको वास्तवीक दोषी र योजनाकार तत्कालिन माओवादी नेता प्रभु साह भएपनि उनलाई कार्यवाही गर्नुको सट्टा कुनै संलग्नता नै नभएको आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई बल जबर्जस्ती फसाउन खोजेको जिल्ला अध्यक्ष यादवको आरोप छ।


बलजबर्जस्ति सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजे आफूहरु ठूलो विद्रोहमा उत्रिने यादवले चेतावनी दिए।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता बबन सिंहले गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको योजनामा भएको दाबी गर्दै सरकारले प्रभु शाहमाथि अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले प्रभु साहको दम्भ, घमण्ड र अहंकारको कारण गौर घटना भएको बताएका छन् ।
गौर घटनाको मुख्य दोषी नै प्रभु साह रहेकोले उनलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग उनले माग गरे ।
लोसपा नेताहरुले समेत गौर घटना बारे सरकारले निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई मात्र कार्यवाही गर्नुपर्ने धारणा राखेका थिए।


लोसपा र नेकपा एसका नेताहरुले मधेश नेताहरुलाई फसाउन प्रभु साहले बलजबर्जस्ती किटानी जाहेरी दिन लगाएको आरोप लगाए।
विरोध जनप्रदर्शन कार्यक्रम सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक जसपा नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको थियो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय एवं पुर्व राज्यमन्त्री योगेन्द्र राय यादव, महिला नेतृ एवं प्रदेश सांसद शोभा साह, लोसपा नेता बाबुलाल साह, नेकपा एमालेका नेता बबन सिंह, नेकपा एसका नेता रेवन्त झा, नेपाली कांग्रेसका नेता रामचन्द्र गिरी, लोसपा नेता अनिल सिंह, गरुडा नपाका मेयर प्रत्यासी अनिल यादव, युवा नेता राजकुमार दास, बिजय चौधरी, पुनित राम लगायतका हजारौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*