आरएन पटेल,बारा, चैत २३ गते ।
बारा जिल्लाको बारागढी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ सभा सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय खोपवाको आयोजनामा सोमबार गाउँ कार्यपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल र उपाध्यक्ष लक्ष्मी देवी रायले संयुक्त रूपमा सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै आगामी आर्थिक वर्षमा प्रशासनिक कार्यदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका हुन।

सभालाई सम्बोधन गर्दै अध्यक्ष जयसवालले आफ्नो चार वर्षे कार्यकालमा पालिकावासीका अपेक्षाअनुसार अधिकांश योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिएको दाबी गरेका छन। उनले बारा जिल्लाका १६ वटा पालिकामध्ये विकास निर्माण र सेवा प्रवाहका दृष्टिले बारागढी गाउँपालिका अग्रस्थानमा रहेको उल्लेख गरेका हुन।

अध्यक्ष जयसवालले आगामी आर्थिक वर्षमा नयाँ योजना ल्याउने भन्दा पनि पुराना तथा अधुरा योजनाहरूलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन। गाउँ सभाबाट आगामी योजनाहरूको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा पालिकाको सम्पूर्ण शाखा प्रमुख, वडा नं. १ देखी ६ सम्मका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको भव्य सहभागिता रहेको थियो।


Sthaniya News
