Breaking News
गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग

गाैर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव शंकर पोखरेलको माग

प्रेमचन्द्र झा,रौतहट,भदौ ६ गते।

महोत्तरी।नेकपा एमालेका महासचिव शंकर पोखरेलले गाैर घटनामा हिंसा भडकाउने भूमिकामा रहेका तत्कालीन माओवादी नेता प्रभु साहमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्। बर्दिवास, महोत्तरीमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा बोल्दै उनले दोषी व्यक्तिमाथि अनुसन्धान हुनु न्यायिक प्रक्रिया भएको र निर्दोषहरू आतिनु नपर्ने स्पष्ट पारे।

“सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान अघि बढ्नु स्वाभाविक हो। अदालतको आदेशसँग एमालेको कुनै सम्बन्ध छैन, हामी त्यो बेला सरकारमा समेत थिएनौं,” पोखरेलले भने, “दोषी को हो भनेर छुट्याउनु अनुसन्धानको विषय हो, तर जसले हिंसा भड्काउने भूमिका खेले, उनीमाथि भने प्रश्न उठाउनु पर्छ।”

पोखरेलले गाैर घटनाका बेला एमाले सरकारमा नरहेको र घटनामा एमालेको कुनै संलग्नता नभएको समेत प्रष्ट पारे। उनले माओवादी र मधेसी फोरमले आ-आफ्नो कार्यक्रम आयोजना गरेको बेलामा माओवादी पक्षका नेताहरूले उत्तेजना फैलाएर हिंसा बढाएको दाबी गरे।

“प्रभु साहले यदि भिड व्यवस्थापनमा जिम्मेवार भूमिका खेलेका भए, त्यो दिन गाैरमा हिंसा हुने थिएन। तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उतेज्जना फैलाए,” पोखरेलले आरोप लगाए, “यस्तो कदम कुनै पनि जिम्मेवार नेताको हुन सक्दैन।”

महासचिव पोखरेलले समाजलाई अस्थिर बनाउने, हिंसा भड्काउने र आफ्ना स्वार्थका लागि जनतालाई द्वन्द्वमा होमाउने राजनीति अनुचित रहेको बताए। उनले शान्ति र संवाद नै एमालेको मार्ग रहेको र हिंसाको राजनीतिमा कहिल्यै नलाग्ने दाबी गरे।

“हामी प्रतिशोधको राजनीति गर्दैनौं। तर जसले समाजमा हिंसा ल्याउने प्रयास गर्छ, उसमाथि अनुसन्धान हुनु आवश्यक छ,” पोखरेलले भने।

कार्यक्रममा एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता रहेको थियो भने केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल, प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, रौतहट इन्चार्ज अजय कुमार गुप्ता, केन्द्रीय सदस्य उद्वव पोखरेल, कुन्दन कुशवाहा, रेखा झालगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा एमाले मधेस प्रदेशले विधान संशोधन सम्बन्धी सुझाव सर्वसम्मतिले पारित गरेको जानकारी प्रदेश सचिव मनोज पौडेलले दिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*