आरएन पटेल,रौतहट, भदौ २९ गते।
रौतहटमा यूरिया मलको अभावले किसानहरु मारमा परेका छन। रौतहट लगायत मधेश प्रदेश नै सूखाग्रस्त, संकटग्रस्त क्षेत्र घोषणा भए पनि किसानहरुले राहत पैकेजको त कुरै छोडनु हालसम्म आवश्यक मात्रामा मलखाद नपाएको देखिएको छ।

लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्याएर जेनतेन धानबालीलाई बचाई रहेका छन् । भदौ महिनाको अन्त्यतिर धान फुल्ने फल्ने बेला आइपुग्दा पनि मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक यूरिया मल अझै पनि किसानको हातमा पुग्न सकेको छैन । “पानी अभावमा किसानी गरेका कृषकहरुका लागि रोपाईको सिजनमा डीएपी मल तथा भदौको अन्त्यतिर पनि यूरिया मल नपाउनु दुर्भाग्यपूर्ण अवस्था रहेको बौधिमाई नपा -२ का एक किसान छोटेलाल राउतले गुनासो गरेका छन।”
साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेड रौतहटका कार्यालय प्रमुख वामदेव मिश्रका अनुसार – किसानलाई दुईपटक युरिया मल वितरण गरिसकेको भए पनि हालको लागि यूरिया मलको अभाव रहेको जानकारी दिएका छन । गौर शाखाका प्रमुख मिश्रले गोदाममा यूरिया मल उपलब्ध नभएकाले वितरणमा ढिलाई भएको बताए। हालको लागि डीएपी मल उपलब्ध भएकाले आवश्यकता भएका किसाहरुले प्राप्त गर्न सकिने उनले जानकारी दिए ।
धानबालीको माध्यम समयमा युरिया मल अत्यावश्यक मानिन्छ । तर हरेक वर्ष जस्तै यसपालि पनि किसानहरू मलको अभाव झेल्न बाध्य छन् । स्थानीय किसान बिनोद यादव आक्रोश पोख्छन्, “धान फल्ने मुख्य बेला यही हो, तर युरिया मल नपाएर भारतीय यूरिया मल २२ सय प्रति बोरा सम्म किन्न बाध्य भएका छौ ।

वर्षा नपरेकाले पानीको व्यवस्थापनमै किसानहरूको ध्यान गएकाले मल अभावले थप तनाव सिर्जना गरेको छ । समयमा मल नपाइएमा उत्पादनमा गिरावट आउने चिन्ता बढ्दो छ । देशको बिषम प्रस्थितिमा भारतीय सिमानाका पनि बन्द भएर जेनतेन गरेर ल्याइरहेका यूरिया मल अब पाउने आश नै नरहेको उनीहरुले गुनासो गरेका छन।
“विभिन्न जोखिम मोलेर भारतबाट यूरिया मल ल्याएका व्यपारीहरु चर्को मुल्यमा बेच्ने हुँदा, नेपालमा यूरिया मल नपाएर धान खेतीमा ठुलो असर पर्ने अर्का स्थानीय किसान विश्वनाथ प्रसाद पटेलले दुःखेसो पोखेका छन।”
कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका कार्यलय प्रमुख विवेक पौडेलका अनुसार -“हामीसँग उपलब्ध दुई लॉट गरेर आएको यूरिया मल किसाहरुलाई बाडिसकेको तथा थप यूरिया मल आउने कुनै ठेगान नरहेको जानकारी गराएका छन।
स्थानीय तहदेखि संघीय सरकारसम्मको उदासीनता र समयमै मल व्यवस्थापन गर्न नसक्ने प्रवृत्तिप्रति किसानहरू आक्रोशित छन् । उनीहरू अब ढिला नगरी चाँडोभन्दा चाँडो यूरिया मल उपलब्ध गराएर खेतीमा विश्वास दिन सरकारसँग माग गरिरहेका छन् ।
Sthaniya News
