स्थानीय न्यूज
रौतहट, असोज ०२ गते।
बिलबिनाका गरगहना तथा सामग्री किनबेच नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले सूचना जारी गरेको छ। हालै देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाबाट कागजात, बहुमूल्य गरगहना, ऐतिहासिक दस्तावेज र नगदसहितका सामग्री लुटपाट भएकाले त्यस्ता सामग्रीहरु किनबेच नगर्न जानकारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालयले यस्ता सामानहरू विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको हुन सक्ने आशङ्का व्यक्त गर्दै सर्वसाधारणलाई बिलपारित नगरी कुनै पनि सुनचाँदीका गरगहना वा अन्य सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ।
नेपाल प्रहरीका अनुसार, जेन जी का किशोर-किशोरी तथा युवाहरूले भाद्र २३ र २४ गते आयोजना गरेका प्रदर्शनका क्रममा यस्ता लुटपाट गतिविधि भएको भन्ने सूचनाको अनुसन्धान भइरहेको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा, त्यस्ता सामग्री खरिद-विक्रीमा संलग्न हुने वा त्यसको जानकारी लुकाउने व्यक्तिहरूलाई कानूनी कारबाही हुने चेतावनी दिइएको छ। साथै, शंकास्पद गतिविधि वा जानकारी भएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ।
Sthaniya News
