रौतहट, गढीमाई, असोज ८ गते।
गढीमाई नगरपालिका-८ का वडा अध्यक्ष बजरङ्गी प्रसाद यादवले वरियारपुर मलाहिटोल बजारमा भव्य रूपमा आयोजना भइरहेको दुर्गा पूजा महोत्सवका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

उहाँले वडाको चालु आर्थिक वर्ष २०८२/८३ को पुजिगत बजेटबाट उक्त रकम कट्टा गरी दुर्गा पूजा मेला समितिलाई उपलब्ध गराएको जानकारी वडा कार्यालयले दिएको छ। यस सहयोगले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई अझ भव्य र अनुशासित बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

मेला समितिका अध्यक्ष पुनित सहनीले वडा अध्यक्ष यादवलाई धन्यवाद ज्ञापन गर्दै अन्य श्रद्धालु, दानवीर तथा समाजसेवीहरूलाई पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन्। उहाँले भने, “दुर्गा मन्दिरभित्र पुगेर सिधै दान गर्न सकिन्छ। वा समितिका पदाधिकारिहरुलाई सम्पर्क गरि सहयोग गर्नसकिन्छ। यस पुण्य कार्यमा जोडिएर सबैले आफ्नो अंश दिनु पर्दछ।”
दुर्गा पूजा महोत्सवका अवसरमा वरियारपुर मलाहीटोल बजारको वातावरण उल्लासमय बनेको छ। स्थानीय बासिन्दा, व्यापारी, युवाहरू सक्रिय सहभागितासहित मेलालाई सफल बनाउन जुटेका छन्।
Sthaniya News
