Breaking News
रौतहटको वृन्दावन-८ बहुअरीमा राष्ट्रिय दलित पत्रकार संघ राैतहटको शुभकामना आदानप्रदान

रौतहटको वृन्दावन-८ बहुअरीमा राष्ट्रिय दलित पत्रकार संघ राैतहटको शुभकामना आदानप्रदान

राैतहट, असाेज १६ गते
रौतहटको वृन्दावन-८ बहुअरीमा राष्ट्रिय दलित पत्रकार संघ राैतहटको भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति राैतहटकाे आयोजनामा बिहीबार वृन्दावन नगरपालिका नगरपालिकाको वडा नं. ८ बहुअरीस्थित दलित धर्मशालामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
संघका राैतहट शाखा अध्यक्ष राजेश पासवान (निर्माणी)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे भने प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकिन्द्र पासवानको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पासवानले दलित र गैरदलित समुदायलाई एकै थलोमा भेला गराउँदै समाजमा व्याप्त जातीय भेदभाव, छुवाछूत र दलितमाथिका विभिन्न लांछना विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले अझै पनि दलित समुदायले अपहेलित जीवन बिताउनु परेकोप्रति चिन्ता व्यक्त गर्दै सबै समुदाय एकजुट भए मात्र दासत्व प्रथा अन्त्य गर्न सकिने धारणा राखेका थिए ।

संघका अध्यक्ष राजेश पासवान (निर्माणी)ले मधेसमा दलित समुदायमाथि भइरहेको अन्याय, अत्याचार र जातीय विभेदको घटनाले भयावह रूप लिएको बताउँदै, यस्ता चुनौतीपूर्ण अवस्थामा दलित अगुवाहरूको निष्क्रियता दुर्भाग्यपूर्ण भएको बताए । उनले कार्यक्रम गाउँमै आयोजना गर्नुको कारण आफ्नो गाउँको पहिचान र चेतनाको सन्देश फैलाउने उद्देश्य रहेको बताए ।

“लोकतन्त्रको मूल आधार– सम्मान, सहभागिता र विभेदमुक्त समाज; अभिव्यक्ति स्वातन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज” भन्ने नारासहित विजयादशमी, दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका पत्रकार, दलित अधिकारकर्मी र सम्मानित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संघमा आवद्ध पत्रकारहरूलाई प्रेस कार्ड, प्रमाणपत्र र व्याग वितरण गरिएको कार्यक्रममा अध्यक्ष पासवानले सञ्चारकर्मीहरूलाई मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे । उनले पत्रकारिता कुनै जाति, धर्म वा वर्गको पक्षमा नभई सम्पूर्ण जनताको आवाजका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथिमा वृन्दावन–८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, जगन्नाथ प्रसाद भेडिहर, दलित अधिकारकर्मी मटुक पासवान, धर्मेन्द्र पासवान, रामविनय पासवान, दलित संघर्ष समितिका संयोजक सोनेलाल राम, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै दलित अधिकारकर्मी पुनित राम चमार, उदयनारायण राम, अवधनारायण राम, प्रा.अ. रामाधार पासवान, भोला पासवान, मुसहर संघका अध्यक्ष विनोद माझी, तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराका अध्यक्ष उपेन्द्र पासवानसहित रौतहट, बारा र पर्साका सयौं सञ्चारकर्मी र अगुवा व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो ।
कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष प्रदीप दासले गरेका थिए। कार्यक्रमले दलित समुदायको हक, अधिकार र सम्मानका पक्षमा सशक्त सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*