आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिका-५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो पीडामा डुबेको छ । १३ दिनअघि परिवारका अभिभावक हरेसी मण्डलको असामयिक निधनपछि गाउँभरि शोकको छाँया छाएको छ ।
हरेसी मण्डल, जसको उमेर ४२ वर्ष थियो, सामान्य ज्वरोबाट पीडित थिए । तर, उपचारका लागि आवश्यक खर्च अभावका कारण समयमा स्वास्थ्य सेवा लिन नसक्दा उनको ज्यान गएको हो । मलंगवा लैजाने क्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ ।
हरेसी मण्डल पाँच जनाको परिवारका एकमात्र आय स्रोत थिए । उनका तीन सन्तान – १५ वर्षीया छोरी, १२ वर्षका छोरा र ९ वर्षका अर्का छोरा छन् । पत्नीको उमेर ३७ वर्ष रहेको छ । परिवारको गुजारा अत्यन्तै कठिन अवस्थामा रहेको बेला अभिभावकको निधनले उनीहरूलाई अझै गहिरो संकटमा पारेको छ ।
हरेसी मण्डलको मृत्युपछि धर्म अनुसार आवश्यक विधिहरू सम्पन्न गर्नुपर्ने भए तापनि आर्थिक अभावले गर्दा परिवार निकै अप्ठ्यारोमा परेका थिए । यस्तो अवस्थामा स्थानीय समाजिक अभियन्ता शैलेन्द्र यादव अगाडि आएर सहयोगको अभियान थाले । सामाजिक सञ्जालमार्फत चन्दा संकलनको अपिल गरेका यादवले १२ दिनभित्रमा रू. १ लाख ५० हजार ६४० संकलन गर्न सफल भए ।
संकलित रकममार्फत मृतकको अन्त्येष्टि तथा धर्मअनुसारका सबै काजकिरिया विधिपूर्वक सम्पन्न गरियो । साथै, हरेसी मण्डलले समाजबाट लिएको कर्जा पनि सोही रकमबाट तिरिएको अभियन्ता यादवले जानकारी दिए ।
तर, चुनौती यतिमा मात्र सीमित छैन् । मृतकको परिवार हाल ४ धुर जमिनमा बसोबास गर्दै आएको छ, जुन अन्य व्यक्तिको नाममा रहेको बताइएको छ । सो जमिन परिवारको नाममा फिर्ता गराउनका लागि समाजिक अभियन्ता यादवको पहलमा कार्य अघि बढिरहेको छ ।
समाजका अन्य सहयोगी मनहरूलाई समेत उनले अपिल गर्दै भने, “यो परिवार अझै गहिरो संकटमा छ । स्थायी आवास, बालबालिकाको शिक्षा र जीविकोपार्जनका लागि थप सहयोग आवश्यक छ । सबैले सक्दो सहयोग गरौँ।”
यो घटनाले स्थानीय स्तरमा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सुकुम्बासी समस्याको विषयमा गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थालाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट दीर्घकालीन समाधान खोजिनु आवश्यक छ ।
Sthaniya News
