स्थानीय न्यूज,बारा, असोज २५ गते ।
बारामा घर लिप्नको लागि माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ सानो इटवाल बस्ने दशरथ महतोकी ७० वर्षीय श्रीमती शारदा देवी महतो रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। त्यसैगरी सिम्रौनगढ नगरपालिका-५ सानो इटवाल बस्ने राजेश्वर महतोका १५ वर्षीय छोरा सुनिल महतो (निरहुवा) लाई कलैया मेट्रो अस्पताल पठाइएको थियो । डाक्टरले चेकजाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका छन्।

घाइते हुने व्यक्तिहरुमा सिम्रौनगढ नगरपालिका-६ सानो इटवाल बस्ने बिश्वनाथ महतोका अन्दाजी १४ वर्षीय छोरा साजन महतोलाई हातखुट्टाम चोट लागि अवस्था सामान्य रहेको छ। उनको उपचार सिम्रौनगढ कंकाली अस्पतालमा भइरहेको छ। त्यसै अस्पतालमा उपचाररत्त सिम्रौनगढ नगरपालिका-५ सानो इटवाल बस्ने राज किशोर महतोका १५ वर्षीय छोरा नितेश महतोलाई हात, खुट्टा र टाउकोमा चोट लागि सामान्य अवस्थामा रहेका छन ।
प्रादेशिक अस्पताल कलैयामा उपचाररत्त सिम्रौनगढ नगरपालिका-६ अमरपुर बस्ने सन्तोष मुखीयाका अन्दाजी १८ वर्षीय छोरा गौतम मुखियाको हातखुट्टामा सामान्य चोट पटक लागेको छ भने वडा नं-५ सानो इटवाल बस्ने बृजकिशोर महतोकी अन्दाजी १४ वर्षीया छोरी रानी कुमारी महतोको बायाँ हात भाचेको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ ।

त्यस्तै सानो इटवाल बस्ने नै लक्ष्मी महतोकी अन्दाजी १४ वर्षीया छोरी सुशिला कुमारी महतो र प्रभु शर्माका अन्दाजी १५ वर्षीय छोरा राजा बाबु शर्मालाई शरीरमा सामान्य चोट पटक लागि धर्मनगर अस्पताल सिम्रौनगढमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा खबर प्राप्त भएलगत्तै प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ जनाको टोली र सशस्त्र प्रहरी बल सिम्रौनगढबाट ७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

Sthaniya News
