काठमाडौं,कार्तिक ०१ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर रहनु भएको थियोे । उनले आफ्नो सम्बोधनमा मुख्यमन्त्री सोनललाई मधेशको अधिकार आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै भने, “जसरी विगतमा उहाँले आन्दोलनका अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभयो, आज पनि सरकारको नेतृत्व सम्हालेर जनताको अधिकार सुरक्षित गर्ने काममा अगाडि बढ्नु भएको छ।” ठाकुरले लोकतान्त्रिक मूल्यमान्यता र संघीयता सुदृढ गर्न लोसपाले खेलेको भूमिकालाई स्मरण गर्दै सबै तहमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, संघीय लोकतान्त्रिक मोर्चाका प्रतिनिधिहरू, विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा संघीय लोकतान्त्रिक मोर्चालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, मधेश प्रदेशका तमाम नागरिकप्रति विशेष आभार प्रकट गरिएकाे छ । साथै, मधेश आन्दोलनसहित विभिन्न अधिकार प्राप्तिका आन्दोलनहरूमा बलिदान दिने वीर शहीदहरूलाई श्रद्धापूर्वक सम्झिँदै, उनीहरूलाई प्रेरणाको स्रोतको रूपमा सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गरियो ।
मुख्यमन्त्री सोनलले आफ्नो सम्बोधनमा पार्टी र जनताको भरोसामा अझै गम्भीर जिम्मेवारीसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका । मधेशको हकहितका लागि लड्दै आएका आन्दोलनहरूलाई संस्थागत गर्दै विकास, समावेशिता र सामाजिक न्यायमा आधारित शासन प्रणाली निर्माणमा आफू क्रियाशील रहने उनले बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरूले मधेश आन्दोलनको इतिहास, वर्तमान राजनीतिक परिस्थिति र लोसपाको भूमिकामाथि प्रकाश पारेका थिए ।
Sthaniya News
