स्थानीय न्यूज
रौतहट,मंसिर २० गते।
रौतहटको चन्द्रनिगाहपुर दुर्घटनामा पीडितमाथि ज्यादती प्रहरीले गरेको पिडितको आरोप रहेको छ। जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका-६ मोतियाही पुल नजिक गत शुक्रबार भएको सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका पीड़ित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका पीडित परिवार तथा स्थानीयवासी माथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप तीव्र रूपमा उठेको छ। मृतकका परिवारजनले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रुपा लाबुङमाथि राजनीतिक दबाबमा आएर शान्तिपूर्ण प्रदर्शनमाथि लाठीचार्ज गराउनेसम्मको ज्यादती गरेको गम्भीर आरोप लगाएका छन्। गत शुक्रबार ना ३९ प ४२४० नम्बरको मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका-२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई ना ४ ख ६५४७ नम्बरको तिब्र गतिमा दौडिरहेको बसले एकाएक ठक्कर दिएको थियो। भीषण ठक्करका कारण पटेलको घटनास्थलमै मृत्यु भएको थियो भने साथमा सवार उनका दुई छोरा र एक छोरी गम्भीर घाइते भई अहिले विभिन्न अस्पतालमा उपचाररत छन् ।

घटनापछि मृतकका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै दोषी चालकलाई कडा कारवाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा पारदर्शी छानबिनको माग राख्दै चक्का जाम गरेका थिए। तर शान्तिपूर्ण रूपमा बसेका प्रदर्शनकारीमाथि प्रहरी प्रमुख लाबुङको आदेशमा लाठीचार्ज
गरिएको मृतकका जेठा दाई दिपेन्द्र पटेलले आरोप लगाए। उनका अनुसार डिएसपी लाबुङ स्वयं घटनास्थलमा उपस्थित भई “राजनीतिक दबाब”को कारण प्रदर्शन हटाउन बल प्रयोगको निर्देशन दिएकी थिइन्। लाठीचार्जका क्रममा थुप्रै स्थानीय घाइते भएका छन्।
“प्रहरी नै भक्षकजस्तै बनेर पिसेको छ, न्याय माग्दा उल्टै चोट पाउनु परेको,” दिपेन्द्र पटेलले कडा अभिव्यक्ति दिएका छन। पीडित परिवारले मात्र बल प्रयोगको शिकायत गरेका होइनन्। मृतकका भाइले थप आरोप लगाउँदै भने,
“हामी सहमत नै नभएको अवस्थामा प्रहरीले जबर्जस्ती शव पोस्टमार्टममा लग्यो। अहिले शव कहां राखिएको छ भन्ने जानकारी समेत दिएको छैन।” उनीहरूका अनुसार परिवारसंग समन्वय नगरी शव नियन्त्रणमा लिएर प्रहरीले ज्यादतीपूर्ण व्यवहार गरेको छ। स्थानीय आक्रोश बढ्दो, आन्दोलन कडा बनाउने चेतावनी प्रहरीको व्यवहार, राजनीतिक हस्तक्षेपको आशंका तथा पारदर्शिता नदेखिएको भन्दै स्थानीयवासी थप आक्रोशित भएका छन्।
“न्याय नदिएसम्म आन्दोलन अझै कडा बन्छ। आवश्यक परे राजमार्ग अनिश्चितकालका लागि बन्द गर्नेछौं।” यो घटनाले प्रहरीमाथि गम्भीर प्रश्न खडा गरेको छ। दुर्घटनाको सत्यता, दोषीप्रति कारवाही, पीडित परिवारलाई राहत तथा प्रहरीद्वारा प्रयोग गरिएको बलको वैधता-सबै विषयमा निष्पक्ष छानबिनको माग उच्च भएको छ। स्थानीय नेतृत्व, नागरिक समाज र मानवअधिकारकर्मीहरूले समेत यस घटनामा छानबिन समिति गठन,प्रहरीको भूमिका स्पष्टिकरण,र पीडित परिवारलाई तत्काल न्यायिक प्रक्रिया अघि बढाउन दबाब दिइरहेका छन्।
रौतहटमा यो मुद्दा अहिले स्थानीयको मुख्य एजेन्डा बनेको छ र न्याय नपाएसम्म आन्दोलन जारी रहने पीडित परिवारले अठोट गरेका छन। साभार: हाइबे न्यूज
Sthaniya News
