प्रेमचन्द्र झा
कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा सञ्चालन भइरहेको अभियानबारे जानकारी दिनुभयो। उहाँले भव्य भारत निर्माणका लागि बालबालिकामा संस्कार र मूल्य–मान्यताको आवश्यकता औंल्याउँदै आजका बालबालिका सनातन परम्पराभन्दा पश्चिमी सभ्यताप्रति बढी आकर्षित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। साथै, साधु–सन्त, महात्मा तथा भक्तजनहरूलाई संगोष्ठी सेवा र सत्सङ्गमार्फत साप्ताहिक गोष्ठी आयोजना गरी हिन्दू समाजलाई एकजुट गर्ने प्रयास गर्न आग्रह गर्नुभयो।
भवा पगलाका संयोजक आचार्य गोपाल खत्री जीले गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश स्मरण गराउँदै आत्मरक्षाको विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो।
सम्मेलनमा विवेकानन्द इन्टरनेशनल वैदिक सोसाइटीजका स्वामी अच्युतानन्द पुरी महाराज, सिख समाजका प्रतिनिधि मनमोहन सिंह, विश्व हिन्दू परिषद्का प्रीत अरुण चट्टोपाध्याय, अशोक प्रसादलगायत अन्य वक्ताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए।
विभिन्न धर्म र समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न सम्मेलनले धार्मिक, सांस्कृतिक तथा सामाजिक विषयमा विचार आदान–प्रदानको अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।
Sthaniya News
