स्थानीय न्यूज,रौतहट, पौष ०६ गते।
रौतहट जिल्लामा समुदाय-प्रहरी साझेदारी (Community-Police Partnership) कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा ईलाका प्रहरी कार्यालय कटहरीया, ईलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी जयनगर, प्रहरी चौकी सुकदेव चौक, प्रहरी चौकी माधोपुर, प्रहरी चौकी धर्मपुर, प्रहरी चौकी चेतनगर तथा अस्थायी प्रहरी पोष्ट लौकाहाको आयोजनामा पौष ०६ गते आइतबार बिहान ११:०० बजे कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त कार्यक्रम रौतहट जिल्लाका कटहरीया नगरपालिका वडा नं. ०४, गरुडा नगरपालिका वडा नं. ०५, ईशनाथ नगरपालिका वडा नं. ०६ जयनगर, यमुनामाई नगरपालिका वडा नं. ०१ सुकदेव चौक बजार, माधवनारायण नगरपालिका वडा नं. ०१, गढिमाई नगरपालिका वडा नं. ०१ तथा चन्द्रपुर नगरपालिका वडा नं. ०९ मा आयोजना गरिएको थियो।

कार्यक्रममा सम्बन्धित वडाका स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। जनचेतनामूलक कार्यक्रममार्फत चोरी नियन्त्रण, शीतलहरबाट बच्ने उपाय, जातीय छुवाछुतको अन्त्य, लागू औषध दुरुपयोग न्यूनीकरण, अभद्र व्यवहार तथा लैंगिक हिंसा न्यूनीकरणजस्ता विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमले समुदाय र प्रहरीबीच आपसी विश्वास, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। यस्तो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न स्थानीयवासीहरूले आग्रह गरेका छन।

Sthaniya News
