आरएन पटेल,राैतहट,पौष ०७ गते।
रौतहट । आगामी फाल्गुन २१ गते हुने संघीय सांसद निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरू धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् भने चुनावी सरगर्मी गाउँ–बस्ती हुँदै सदरमुकामसम्म फैलिन थालेको छ ।
शनिबार नेपाली कांग्रेस रौतहटले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ का लागि आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । यसअघि नै क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भइसकेको छ । उक्त क्षेत्रमा स्वर्गीय आफताब आलमका छोरा डा. फिरदोस आलमको नाम सिफारिस गरिएको छ । कांग्रेसले बाँकी क्षेत्रका लागि पनि संगठनात्मक सन्तुलन र स्थानीय प्रभावका आधारमा उम्मेदवार छनोट गरिएको जनाएको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटले भने चारै निर्वाचन क्षेत्रमा एक–एक जनाको नाम सिफारिस गर्दै स्पष्ट रणनीति अघि सारेको छ । जसअनुसार क्षेत्र नम्बर १ बाट योगेन्द्र यादव, क्षेत्र नम्बर २ बाट रामआशीष यादव, क्षेत्र नम्बर ३ बाट गोविन्द चौधरी र क्षेत्र नम्बर ४ बाट राजकुमार दासको नाम सिफारिस गरिएको छ । पार्टी नेतृत्वले सशक्त संगठन र पहिचानको मुद्दालाई मुख्य एजेन्डा बनाएर चुनावमा जाने संकेत दिएको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि रौतहटका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सिफारिस गरिसकेको छ । मधेश केन्द्रित राजनीतिमा प्रभावशाली मानिने लोसपाले आफ्नो जनाधार जोगाउँदै प्रतिस्पर्धामा उत्रने तयारी गरेको देखिन्छ ।
अन्य राजनीतिक दलहरू पनि आन्तरिक छलफलमा जुटिरहेका छन् भने केही दलले उम्मेदवार सिफारिस प्रक्रिया जारी रहेको जानकारी दिएका छन् । आगामी दिनमा थप नाम सार्वजनिक हुने सम्भावना रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यसैबीच प्रधानमन्त्रीको पछिल्लो सम्बोधनले तोकिएकै मितिमा चुनाव हुने निश्चित रहेको स्पष्ट पारेपछि दलहरू थप सक्रिय बनेका छन् । चुनाव निश्चित भएसँगै रौतहटमा राजनीतिक भेटघाट, संगठन विस्तार र रणनीतिक गृहकार्यले तीव्रता पाएको छ ।
बहुप्रतिस्पर्धात्मक हुने संकेत देखिएको रौतहटको चुनावी मैदानमा कुन दलले मतदाताको विश्वास जित्छ भन्ने चासो बढ्दै गएको छ । फाल्गुन २१ नजिकिँदै जाँदा रौतहटको राजनीति अझै तातेको देखिन्छ ।
Sthaniya News
