Breaking News
मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?

मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?

स्थानीय न्यूज,राैतहट, पौष ०७ गते।
मधेस प्रदेशमा विगत तीन दिनदेखि चिसो उल्लेख्य रूपमा बढेको छ । बिहान-बेलुका बाक्लो कुहिरो, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मधेसका नागरिकहरू हरेक मौसममा कुनै न कुनै समस्याबाट प्रभावित हुने गरेका छन। गर्मिमा लु लाग्ने, वर्षामा डुबान र बाढीको जोखिम, र जाडोयाममा कठ्यांग्रिने चिसो ।
विशेषगरी गरिब, दलित, मजदुर, वृद्धवृद्धा, बालबालिका तथा खुला ठाउँमा बसोबास गर्ने समुदाय चिसोबाट सबैभन्दा बढी प्रभावित छन् । पर्याप्त न्यानो कपडा, दाउरा वा ताप्ने साधनको अभावमा उनीहरूको दैनिक जीवन थप कठिन बनेको छ ।
देशमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार व्यवस्था छ । यस्तो अवस्थामा मौसमजन्य विपद् तथा जोखिम न्यूनीकरणका लागि सरकारले समयमै तयारी गर्ने अपेक्षा आम नागरिकको हुन्छ । तर मधेसमा चिसो बढ्दै जाँदा पनि सरकारी तहबाट प्रभावकारी पहल देखिएको छैन् ।
मधेस प्रदेश सरकार मातहत रहेको वन कार्यालयले जाडोयाम सुरु हुनुअघि नै चिसोबाट बच्न दाउरा व्यवस्थापन गर्नुपर्ने हो । तर यसप्रति समयमै ध्यान नपुगेको स्थानीयवासीहरूको गुनासो छ । “जबसम्म कुनै अप्रिय घटना हुँदैन, वा अवस्था अन्तिम चरणमा पुग्दैन, तबसम्म सरकारी निकायको ध्यान जाँदैन,” गरूडा २ गेडहीगुठ्ठीका स्थानीय अगुवा विवेक शर्माको भनाइ छ ।
सबैभन्दा नजिकको सरकार मानिने स्थानीय तहको भूमिका झनै महत्वपूर्ण हुन्छ । तर स्थानीय सरकारहरूले समेत चिसो बढ्नुअघि आवश्यक योजना, राहत सामग्रीको व्यवस्था वा जनचेतनामूलक पहल नगरेको देखिन्छ । चिसो बढिसकेपछि मात्रै कम्बल वितरण वा औपचारिक अनुगमनमा सीमित हुने प्रवृत्तिले समस्या समाधान गर्न सक्दैन् ।
विशेषज्ञहरूका अनुसार चिसोबाट हुने स्वास्थ्य समस्या, विशेषगरी श्वासप्रश्वाससम्बन्धी रोग, निमोनिया, दम तथा वृद्धवृद्धामा हुने जटिलता रोक्न पूर्वतयारी अनिवार्य हुन्छ । त्यसका लागि स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबीच समन्वय आवश्यक छ ।
मधेसमा चिसो बढ्दै गएको वर्तमान अवस्थामा अब ढिलो नगरी दाउरा, न्यानो कपडा, अस्थायी ताप केन्द्र तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । हरेक मौसममा समस्या भोग्दै आएका मधेसी जनताको जीवन सहज बनाउन सरकार समयमै संवेदनशील र जिम्मेवार बन्नु आजको आवश्यकता हो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*