Breaking News
राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

आरएन पटेल, रौतहट, पौष १३ गते।
रौतहटको राजपुर नगरपालिकाको आयोजना तथा निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सम्पन्न निःशुल्क आँखा शिविर अन्तर्गत मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आइतबार विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।


निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया गराउन आएका बिरामीहरूसँग राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो. राजिक आलमले प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्था, उपचारप्रति आशा र अनुभूति बारे जानकारी लिनुभएको थियो। भेटघाटका क्रममा नगर प्रमुख आलमले तिलगङ्गा आँखा अस्पताल, काठमाडौंकी वरिष्ठ नेत्र विशेषज्ञ डा. रिता गुरुङसँग समेत भेट गरी राजपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको छ।


केही समयअघि राजपुर नगर क्षेत्रमा आयोजना गरिएको आँखा शिविरमा जाँच गरिएका बिरामीहरूमध्ये मोतियाबिन्दुका ६२ जना बिरामीलाई शल्यक्रियाका लागि निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पताल पठाइएको थियो। सोही कार्यक्रम अन्तर्गत अहिले निःशुल्क शल्यक्रिया भइरहेको जनाइएको छ।
स्वास्थ्य क्षेत्रमै लामो समय काम गरेर राजनीतिमा फर्किनुभएका नगर प्रमुख डा. आलमले नगरवासीहरूको स्वास्थ्य समस्यालाई पहिलो प्राथमिकतामा राखेर विकासका कामहरू अघि बढाइरहेको देखिएको छ।


“स्वस्थ नागरिक नै समृद्ध नगरको आधार हो,” उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्य सेवा, विशेषगरी आँखाजस्तो मानव शरीरको अत्यन्त महत्वपूर्ण ज्ञानेन्द्रियको संरक्षणमा नगरपालिका गम्भीर छ।”
आँखा मानव शरीरको अभिन्न अंग र सुन्दर संसार देखाउने प्रमुख माध्यम भएकाले नगरवासीहरूको हितका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। स्थानीयवासीहरूले नगरपालिकाको यस पहलप्रति खुशी व्यक्त गर्दै यस्ता स्वास्थ्य सम्बन्धित कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।
राजपुर नगरपालिकाको सक्रियता र तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगले नगर क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको स्थानीयहरूको भनाइ छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*