मेवालाल यादव,विराटनगर माघ ०३ गते ।
विराटनगर निवासी चर्चित मेडिकल व्यवसायी कल्पनादेवी यादव राष्ट्र निर्माण दल नेपालबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुने भएकी छन।

मोरङको बनिगाउँमा आयोजित एक भव्य कार्यक्रममा श्रीमती यादव दुई सयभन्दा बढी समर्थक तथा कार्यकर्तासहित राष्ट्र निर्माण दलमा प्रवेश गरेकी हुन् । प्रवेश कार्यक्रममा स्थानीय राजनीतिक अगुवा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र निर्माण दलका अध्यक्ष शमीम मियाँ अन्सारीले मुलुकको विद्यमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इमानदार र जनमुखी नेतृत्वको आवश्यकता औँल्याए । उनले भने, “देश आज नयाँ सोच, नयाँ दृष्टिकोण र जिम्मेवार नेतृत्वको खोजीमा छ । कल्पना यादवजस्ता शिक्षित, पेशागत रूपमा दक्ष र समाजप्रति प्रतिबद्ध व्यक्तिको राजनीतिक प्रवेशले राष्ट्र निर्माणको अभियानलाई थप बलियो बनाउनेछ ।”
त्यसैगरी कार्यक्रममा बोल्दै दलका महासचिव मोहम्मद जाकिर हुसैनले राष्ट्र निर्माण दल कुनै व्यक्ति, जाति वा क्षेत्र विशेषको नभई विचार र सिद्धान्तमा आधारित पार्टी भएको स्पष्ट पारे । उनले भने, “सबैको सम्मान, सबैको पहिचान, राष्ट्रिय स्वाधीनता र राष्ट्र निर्माण हाम्रो मूल मन्त्र हो । महिलाको नेतृत्व, पेशागत दक्षता र सामाजिक सेवामा सक्रिय व्यक्तिलाई राजनीतिमा ल्याउनु नै नयाँ राजनीतिक संस्कृतिको सुरुवात हो ।”
कार्यक्रममा दलका केन्द्रीय सचिव गुरुदेव रामले याे दल केवल देश निर्माण गर्नका लागि स्थापना गरेका छाैँ । याे दल उत्पीडित महिला, दलित, मुस्लिम, मधेशी, थारू, आदिवासी जनजातिकाे आवाज पनि हाे र गरीबलाई सम्पन्न बनाउने मार्ग पनि हाे ।
प्रस्तावित उम्मेदवार कल्पना यादवले आफूमाथि व्यक्त गरिएको विश्वासप्रति आभार व्यक्त गर्दै राजनीति सेवा र परिवर्तनको माध्यम भएको बताइन् । उनले भनिन्, “स्वास्थ्य, शिक्षा, रोजगारी र महिला सशक्तीकरण मेरा प्रमुख एजेन्डा रहनेछन् । मोरङ–४ का जनताको आवाज संसदसम्म पुर्याउन म इमानदारीपूर्वक प्रतिबद्ध रहनेछु ।”
कार्यक्रमले मोरङ निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्र निर्माण दलको संगठनात्मक आधार थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ ।
दलका केन्द्रीय सदस्य महमद हारून खानकाे अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जफर जमाली, राेजिना खातुन, कविता आले मगर, पिके आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम सुनसरी पार्टी अध्यक्ष साैकत अलीले सञ्चालन गरेका थिए ।
Sthaniya News
