आरएन पटेल,राैतहट,माघ २६ गते।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार तथा पूर्वमन्त्री गोविन्द चौधरीले देवाही गोनाही नगरपालिका-९ धरहरीमा आयोजित चुनावी विशेष कोणसभालाई सम्बोधन गरेका छन।

धरहरी निवासी स्थानिय नेता सत्यनारायण राय यादवको अध्यक्षतामा भएको कोण सभालाई सम्बोधन गर्दै चौधरीले जनताको आग्रह र चाहनाअनुसार आफू उम्मेदवार बनेको स्पष्ट पारे । उनले भने, “जनताको विश्वास र आग्रहकै कारण म उम्मेदवारी दिएको हुँ । तपाईंहरू निश्चिन्त रहनुहोस्, यो लडाइँको अन्तिम छोरसम्म म डटेर उभिनेछु ।”
आफूलाई सहयोग र साथ आवश्यक रहेको बताउँदै उनले मतदातासँग भावुक अपिल गरे । “यस्तो नहोस् कि म अगाडि बढूँ तर पछाडि कुनै सेना नै नरहोस्,” भन्दै उनले मतदातासँग साथ र समर्थन मागेका छन।
चौधरीले आगामी दिनमा आफूविरुद्ध विभिन्न किसिमका जालझेल, भ्रम र दुष्प्रचार हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । “कुनै पनि गलत हल्ला, बदनामी वा दुष्प्रचारमा विश्वास नगर्नुहोला,” उनले भने ।
आफ्नो राजनीतिक जीवनबारे उल्लेख गर्दै उनले ३५ वर्षअघि जस्तै अहिले पनि आफू इमानदार रहेको दाबी गरे। “अलिकति बुढो भएको छु, तर तपाईंहरू साथमा हुनुहुन्छ भने म पहाड र बाघसँग पनि लड्न तयार छु,” भन्दै उनले आत्मविश्वास व्यक्त गरे ।
आफूमाथि ‘विकाउ भएको’ भन्ने हल्ला फैलाउने प्रति लक्षित गरि प्रतिक्रिया दिँदै चौधरीले भने, “मभन्दा बढी सम्पत्ति कसको छ ? कसैलाई मसँग आँखा जुधाउने हैसियत छैन् । त्यसैले यस्ता हल्लामा विश्वास नगर्नुहोला ।”
विकास निर्माणका सन्दर्भमा उनले २०४८ सालमा निर्वाचित भएपछि गरुडा-झाझपुल-कटहरिया सडक खण्ड निर्माण गराउन सफल भएको बताए । साथै गरुडामा श्रीराम सुगर मिल गरूडामा आफूले स्थापना गराएको दाबी गर्दै त्यससम्बन्धी भ्रम फैलाइएकोप्रति आपत्ति जनाए ।

सभाको अन्त्यमा चौधरीले दुवै हात जोड्दै मतदातासँग आफूलाई जिताउन आग्रह गरे । क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको भन्दै “यसपटक आर-पार नै होस्,” भनी उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गरे । कार्यक्रममा अन्य वक्ताहरूले पनि चाैधरी नै राैतहट ३ मा परिवर्तनको मजबुत जग भएको भन्दै छाताछापमा मतदान गर्न आग्रह गरेका थिए ।
स्थानिय पूर्व शिक्षक सुरेन्द्र प्रसाद यादवको स्वागत मन्तव्य सहित सुरु भएको कोणसभामा कार्यक्रमका विशिष्ट अतिथि पूर्व प्रदेश सभा सदस्य रामकिशाेर प्रसाद यादव, प्रदेश सभा सदस्य माननीय शाेभा देवी साह, केन्द्रीय सदस्य चुल्हाई राय यादव, अतिथि युवा नेता दिलिप कुमार पटेल, मेयर प्रत्याशी धर्मेन्द्र प्रसाद पटेल, निर्वाचन परिचालन समिति संयोजक रामप्रवेश दास, युवा नेता पुन प्रताप पटेल, महिला नेतृ सोबिता कुशवाहा लगायतका वक्ताहरुले आ- आफ्नो चुनावी मन्तव्य राखेका थिए।
Sthaniya News
