आरएन पटेल,रौतहट, माघ २७ गते।
जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार रामअशिष राय यादवको घरदैलो अभियान तीव्र रूपमा अघि बढिरहेको छ। चुनावी अभियान अन्तर्ग मङ्गलबार क्षेत्र नं. २ अन्तर्गत बौधिमाई नगरपालिका वडा नं. ३, मटिअर्वामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकास, जनअधिकार, सामाजिक न्याय र सुशासनका विषयमा आफ्ना स्पष्ट धारणा राखेका थिए। उनले जनताको आवश्यकता र समस्यालाई संसदसम्म पुर्याएर समाधानका लागि दृढ प्रतिबद्धतासहित काम गर्ने आम मतदाताहरुलाई विश्वास दिलाएका हुन।
घरदैलो कार्यक्रमसँगै आयोजित कोणसभामा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रामकिशोर प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, मधेसको पहिचान र अधिकारको सुनिश्चितता, समानुपातिक समावेशी प्रतिनिधित्व, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने एक मात्र राजनीतिक शक्ति जसपा नेपाल रहेको बताए। समग्र मधेशी समुदायको हक-हितका लागि जसपा नेपाल नै एकमात्र विकल्प भएको उनको दाबी थियो।

त्यसैगरी, जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक पूर्वाधार, खानेपानी, किसान तथा युवाका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने बताए। स्वच्छ छवि, इमान्दार र निडर नेतृत्वका रूपमा उम्मेदवार रामअशिष राय यादव नै जनअपेक्षाअनुसारको विकल्प भएको उनले उल्लेख गरेका छन।
जसपा नेपाल रौतहट क्षेत्र नं. २ को प्रचार-प्रसार तथा जन निर्वाचन परिचालन समितिका संयोजक एवं देवाही गोनाही नगरपालिकाका मेयर प्रत्याशी धर्मेन्द्र प्रसाद पटेलले जनताको आवाज संसदसम्म पुर्याउने र विकासलाई कागजमा मात्र होइन व्यवहारमा उतार्ने प्रतिनिधि आवश्यक रहेको बताए। उनले एकपटक सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरे।

युवा नेता दिलीप कुमार पटेलले बौधिमाई नगरपालिका तथा समग्र क्षेत्रभरि विगतमा भएका विकास कार्यहरू जसपा नेतृत्वकै पालामा देखिएको उल्लेख गर्दै क्षेत्रको दीर्घकालीन विकासमा जसपा नेपाल अग्रणी भूमिकामा रहेको बताए। उनले जसपा नेपालका उम्मेदवार रामअशिष राय यादवलाई चुनाव चिन्ह छाता छापमा मतदान गरी अत्यधिक मतले विजयी गराउन आम मतदाताहरुलाई अपिल गरे।
जसपा नेपालले “समावेशी मधेस, समृद्ध नेपाल” भन्ने राष्ट्रिय अभियान अन्तर्गत घर-घरमा पुगेर जनताका समस्या बुझ्दै समाधानका लागि प्रतिबद्धता जनाउँदै चुनावी अभियानलाई निरन्तरता दिइरहेको छ।
Sthaniya News
