Breaking News
आजपा केन्द्रीय सदस्य बिगु पासवान जसपा नेपालमा प्रवेश, रौतहट-४ मा जसपा जिताउन प्रतिबद्धता

आजपा केन्द्रीय सदस्य बिगु पासवान जसपा नेपालमा प्रवेश, रौतहट-४ मा जसपा जिताउन प्रतिबद्धता

आरएन पटेल,जनकपुरधाम, माघ २८ गते।
आजपा (आम जनता पार्टी) का केन्द्रीय सदस्य बिगु पासवान जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच जसपा नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारी तथा महिला नेतृ एवं पूर्व मन्त्री सुरिता साहले टिका, माला र गम्छा ओढाएर उनलाई विधिवत् पार्टीमा स्वागत गरेका हुन।


पार्टी प्रवेश गराउँदै वरिष्ठ नेता भण्डारीले पासवानलाई पार्टीमा स्वागत गर्दै शुभकामना दिएका छन। साथै नेता पासवान मधेश आन्दोलनबाट खारिएका, कर्तव्यनिष्ठ र क्रान्तिकारी नेतृत्व क्षमतायुक्त युवा नेताका रूपमा रहेको उनले प्रशंसा गरेका छन। उनले भने, “बिगु पासवान जस्ता समर्पित र संघर्षशील नेताको आगमनले पार्टी संगठन थप मजबुत हुनेछ र मधेशको मुद्दालाई अझ सशक्त रूपमा उठाउन मद्दत पुग्नेछ।”

नवप्रवेशी नेता पासवानले आफूले मधेश, मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक तथा पिछडावर्गको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समग्र उत्पीडित समुदायको हक-अधिकार सुनिश्चित गर्न जसपा नेपाल नै उपयुक्त राजनीतिक शक्ति रहेको बताए।
साथै उनले रौतहट निर्वाचन क्षेत्र नं. ४ मा जसपा नेपालका उम्मेदवार राजकुमार दास तत्मालाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेका छन। “अबको अभियान रौतहट-४ मा जसपा नेपाल जिताउने अभियान हो,” उनले भने।
पार्टी प्रवेश कार्यक्रमलाई मधेश केन्द्रित राजनीतिक ध्रुवीकरणको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। जसपा नेपालले यसलाई संगठन विस्तार तथा चुनावी रणनीतिका दृष्टिले सकारात्मक उपलब्धि मानेको जसपा नेपालका उम्मेदवार राजकुमार दासको भनाई रहेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*