स्थानियन्यूज, रौतहट, चैत २२ गते ।
जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय परिसर भित्र तथा वरिपरि बसेर सेवाग्राहीलाई सहयोग गर्ने नाममा अवैध रूपमा रकम असुली गर्ने व्यक्तिहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार एक सूचना जारी गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कार्यालय प्रवेशमा नै निषेध गरिएको जानकारी दिएका छन ।
सूचनामा सरकारी कार्यालय वरिपरि बिचौलियाको सक्रियता बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सेवाग्राहीलाई भ्रममा पारेर गैरकानुनी रूपमा रकम असुल्ने कार्य नियन्त्रण गर्न यस्तो कदम चालिएको जनाइएको छ।
प्रशासनले स्पष्ट पारेको छ कि यदि यस्ता व्यक्तिहरू कार्यालय परिसर वा आसपास क्षेत्रमा फेला परेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ। साथै सेवाग्राहीलाई पनि कुनै पनि सेवाका लागि अनधिकृत व्यक्तिलाई रकम नदिन र सिधै सम्बन्धित शाखाबाट सेवा लिन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको यो कदमले सेवाग्राहीलाई सहज, पारदर्शी र भ्रष्टाचारमुक्त सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Sthaniya News
