स्थानियान्यूज,रौतहट, वैशाख १५ गते।
“शिक्षा नै समृद्धिको आधार हो!” भन्ने मूल नाराका साथ रौतहटको फतुवा बिजयपुर नगरपालिकाको लक्ष्मिनियास्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया मा शैक्षिक सत्र २०८३ का लागि ‘विद्यार्थी भर्ना अभियान’ उत्साहपूर्वक सुरु गरिएको छ।
आज आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–अभिभावक तथा सरोकारवालाहरूको सहभागितामा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा बोल्दै वडा नं ९ का वडा अध्यक्ष राकेश यादव (पपु यादव) ले वडाभित्रका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुने सुनिश्चित गर्न सबैले सामूहिक पहल गर्नुपर्नेमा जोड दिएका थिए।

अभियान अन्तर्गत अभिभावकहरूलाई आफ्ना विद्यालय जाने उमेरका बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराउन अपिल गरिएको छ। “बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि शिक्षा पहिलो आधार हो,” भन्दै सहभागीहरूले शिक्षा पहुँच विस्तारमा अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
वडा कार्यालयले गुणस्तरीय शिक्षा प्रवर्द्धन र दक्ष जनशक्ति निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै “सबै बालबालिका विद्यालय पठाऔँ, साक्षर वडा निर्माण गरौँ” भन्ने नारालाई व्यवहारमा उतार्न आग्रह गरेको छ।

यस अभियानसँगै पालिका अन्तर्गतको लक्ष्मिनिया क्षेत्रमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने र समग्र शैक्षिक वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।

Sthaniya News
