आरएन पटेल । रौतहट । फागुन ९ गते
रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवामा शहरी विकास मन्त्री प्रभु साहद्वारा कड़ा सुरक्षाका बिच स्वास्थ्य चौकीको उदघाटन गरिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सा बिरगंजबाट नवनिर्मित बौद्धिमाई नगरपालिकाको वडा नम्बर ८ सरमुज्जवा स्थित स्वास्थ्य चौकीको उदघाटन कार्यक्रममा स्थानिय तथा नगर क्षेत्रका जनता समाजवादी पार्टी तथा नेकपाको दाहाल नेपाल समुहका नेता कार्यकर्ता एवं सर्व साधारण जनताद्वारा बिरोध गरिएको थियो । बिरोध स्वरूप जसपा र नेकपाका प्रचण्ड माधव समुहका नेता कार्यकर्ताहरुले मन्त्री साहलाई कालो झण्डा देखाएका थिए । कथित बिकास पुरुषको नामले अहिले प्रसिद्ध शहरी विकास मन्त्री साहले उदघाटन कार्यक्रमको लागि बनाइएको मंचसम्म पुग्न बनाइएको मूल गेट नभएर चोर बाटो हुदै गाउँको पश्चिम तिर बाट प्रवेश गरेका थिए ।

यस भन्दा अगाडि पनि यही फागुन ६ गते बिहीबारका दिन मन्त्री साहले सोही स्वास्थ्य चौकीको उदघाटन गर्न खोज्दा स्थानीय जसपा तथा नेकपा दाहाल नेपाल समुहका कार्यकर्ताहरुले बिरोध गर्दा झड़प समेत भएका थिए । शनिबार पुनः उदघाटनको क्रममा उनीहरुबाट कालो झण्डा देखाई बिरोध गर्दा कड़ा सुरक्षाका बिच नेपाल प्रहरी र सशत्र प्रहरीको फोर्स लगाई स्वास्थ्य चौकीको उदघाटन गरिएको हो ।

यस विषयमा सो वडाका वडाध्यक्ष उपेन्द्र दास सँग सोध्दा पहिला नै उदघाटन भइसकेको स्वास्थ चौकीको उदघाटन गर्नु कुनै औचित्य नरहेको प्रतिक्रिया दिए । आफनो वाह वाही लुटनको लागि मात्र यस्तो हर्कत गरेको वहाँले बताए । यस्तो काम निन्दनिय रहेको दासले बताए ।

Sthaniya News
