वैशाख २ गते
मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष यादवलाई समर्थन गर्दै मतदातालाई मत हाल्नका लागि आग्रह गरेका हुन् ।
यादवले मधेश आन्दोलनको नेतृत्व गर्नुका साथै मधेशका मुद्दा तथा संघीयता स्थापित गराउन योगदान दिएको बताउँदै उनलाई भोट हाल्न जयसवालले आग्रह गरे । अध्यक्ष यादवलाई भोट दिए संसदमा उनको उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका विषयहरु सम्बोधन हुने दावी जयसवालले गरेका छन् । ‘प्रदेश सांसदहरुले उठाउने विषय समाधान गराउन समेत केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न उपेन्द्र यादवको संघीय सदनमा अपरिहार्य आवश्यकता देखिएको छ’ उनले भनेका छन् ।

उनले जारी गरेका अपिलमा “यही वैशाख १० गते बारा निर्वाचन क्षेत्र न. २ मा हुन गइरहेको उप निर्वाचनमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष आदरणीय उपेन्द्र यादवजीलाई छाता छापमा मतदान गरी अत्याधिक मतले विजयी बनाउन हार्दिक अनुरोध गर्दछु । साथै
मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरु सम्बोधन गराउन र देशामा संघियता स्थापित गराउन अतुलनीय योगदान गर्दै आउनु भएका उपेन्द्र यादवजीको संघीय सांसदमा उपस्थितिले मात्र सम्बोधन हुन बाकी नागरिकता लगायतका मधेसका सवालहरु र संघीयता कार्यान्वयनका बाकी कार्यहरु पुरा हुन सक्ने भएकोले तथा प्रदेश सभाबाट पनि हामी प्रदेश सांसदहरुले उठान गर्ने विषयहरु समाधान गराउन समेत केन्द्रियतहमा अभिभावकीय भूमिका खेल्न आदरणीय उपेन्द्र यादवजीको संघिय सदनमा अपरिहार्य आवश्यकता देखिएकोले स्वतन्त्र प्रदेश सभा सदस्य म प्रमोद जयसवाल बारा क्षेत्र न २ का मेरा सम्पुर्ण मित्र शुभचिन्तक संघ-सस्था उद्योगी व्यवसायी अभियानकर्मी र आम नागरिकहरुलाई अत्याधिक मतदान गरी गराइ वहाँलाई सगौरव सदनमा पठाइ बारा पर्सा- रौटहट लगायतका हामी सबैको सम्मान बढाउन सबैमा हार्दिक अपिल गर्दछु” उनले भनेका छन ।
Sthaniya News
