आरएन पटेल ।
रौतहट, मंसिर १७ गते ।
रौतहटको उप निर्वाचनमा दुई स्थानमा कांग्रेस र एक स्थानमा नेकपा एस बिजयी भएका छन । जिल्लाको राजपुर नगरपालिका वडा नं. ६, ईशनाथ नगरपालिका वडा नं. ७ र गढ़ीमाई नगरपालिका वडा नं. ८ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा राजपुर-६ र ईशनाथ- ७ मा नेपाली कांग्रेस तथा गढ़ीमाई – ८ मा नेकपा एसले जीत हात पारेका छन ।
राजपुर-६ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार समसे आलमले २ सय ८१ मतको अन्तरले विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार समसे आलमले कुल ७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जिकरुलाह मियाँले ४६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए । त्यसतै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मोहम्मद असिम अख्तरले ४३१ मत ल्याएका छन् ।
अन्य उम्मेदवारले तुलनात्मक रूपमा थोरै मत ल्याएका छन् । यस उपनिर्वाचनमा कुल २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदान गरेका थिए । यो मतदान प्रतिशत ६९.३६% रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । मतगणनाको क्रममा सुरुदेखि नै काँग्रेसका उम्मेदवार अग्रता कायम गर्न सफल भएका थिए ।
जिल्लाको ईशनाथ नपा – ७ मा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार शेख अब्दुल खलिकले ५२ मतको अन्तरले विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार शेख अब्दुल खलिकले कुल ६२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शेख अनवारले ५७५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए । त्यसतै तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलमले ४५२ मत ल्याएका छन ।
त्यस्तै गढ़ीमाई नगरपालिका वडा नं. ८ बिरनगरा बरियारपुरमा नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्ष पदका उम्मेदवार बजरंगी प्रसाद यादवले २४ मताअन्तरले विजयी भएका छन् । आयोगका अनुसार बजरंगी प्रसाद यादवले कुल ६५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महिला नेत्री जिउती देवी यादवले ६३१ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए । तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले ६१७ मत ल्याएका छन । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार संदेश प्रसाद यादवले २५८ मत ल्याई गरि चौथो स्थान प्राप्त गरे ।
यस भन्दा अगाडि २०७९ को निर्वाचनमा गढ़ीमाई-८ मा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा राय यादव वडा अध्यक्ष पदमा जितेका थिए । हाल उनका श्रीमती जिउती देवी यादव नेकपा एमाले पार्टीबाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा पुगी २४ मतान्तर हार व्यहोर्नु परेको छ । त्यसबेला एकीकृत समाजवादीका बजरंगी यादव तेस्रो भएका थिए ।
नेपाली कांग्रेसको गढ़ मानिने राजपुर नगरपालिकामा भएको उप निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेसँगै राजपुर नगरपालिकाको राजनीतिक समीकरणमा नयाँ प्रभाव देखिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूले यसलाई नेपाली कांग्रेसको प्रभाव विस्तारका रूपमा व्याख्या गरेका छन । यो जितले समसे आलमलाई राजपुर नपा वडा नं. ६ का जनताको माग र विकासका विषयमा काम गर्न थप जिम्मेवारीको दायित्व दिएको छ ।
जिल्लाको तिनै ठाउँमा भएको निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना पनि निष्पक्ष रूपमा भएको स्थानीय प्रशासनले जनाएको छ ।