आरएन पटेल ।
रौतहट, मंसिर १८ गते ।
रौतहटको सुन्दरपुर गढ़ीमाई मेलाको मन्त्री सिंहद्धारा भव्य उदघाटन कार्य सम्पन्न भएको छ । वर्तमान नेपाल सरकारका उप प्रधान तथा शहरी विकास मन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ४ ( संग्रामपुर ) सुन्दरपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेला महोत्सव २०८१ को एक समारोहका विच मंगलवार उदघाटन गरेका हुन ।
मंसिर १८ देखि मंसिर २६ गते सम्म चल्न उक्त गढीमाई मेला महोत्सवलाई सभ्य एवं भव्य बनाउनका लागि उपप्रधानमन्त्री सिंह रौतहट पुगेका थिए । गढीमाई मेलाको उदघाटन गर्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले वर्तमान सरकारले देशको अर्थ तन्त्रलाई लयमा ल्याउने गरी काम गरिरहेको बताए । यस अघि राजनीतिक अस्थिरताका कारण बिग्रेको अर्थ तन्त्रलाई यो सरकारले व्यापक सुधार गर्न लागि परेको उनले स्पष्ट पारे ।
बाराको गढीमाई पछिको विश्वमै प्रसिद्ध रौतहटको सुन्दरपुर स्थित लागेको दोस्रो ठूलो गढीमाई मेलाको उद्घाटन गर्न पाउँदा र गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित भएको बताउदै पञ्चबर्षीय गढीमाई मेलाको सफलताको शुभकामना दिए ।
रौतहटको यस गढ़ीमाई मेलालाई थप सभ्य एवं भव्य बनाउन यही मंसिर २० गते दिउँसो भारतीय भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउँदैछन् । साथै मेलामा विभिन्न किसिमका खेल तमासा, सांस्कृतिक कार्यक्रम तथा मेला हेर्न बाहिरबाट आउने श्रद्धालु भक्तजन तथा व्यपारीहरुको लागि उचित खाना तथा बासस्थानको राम्रो प्रबन्ध गरिएको मेलाको मूल आयोजक समितिले जानकारी दिएका छन ।
मेला उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव, मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र कुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, माधव नारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल, राजपुर नगरपालिकाका नगर प्रमुख डॉ. मो.राजिक आलम लगायतका हजारौं व्यक्तिहरूको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।