रौतहट।
चैत्र २२ गते।
रौतहटको वृन्दावन नगरपालिका-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ परेका छन। जंगली सुँगुर मार्न लगाइएको विद्युत् प्रवाहयुक्त तारबाट करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाएको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका वडा नं.-१ बलेरीका २० वर्षीय जितेन्द्र पटेल र ३० वर्षीय सुसिल विश्वकर्मा रहेका छन्। उनीहरूले करेन्ट लागेर मृत्यु भएकी महिलाको शव जंगलमा खाल्डो खनी गाडेको स्वीकारेका छन्।
चैत १४ गतेदेखि हराइरहेकी वृन्दावन नगरपालिका–१ बलेरी खोर बस्ने अन्दाजी ४५ वर्षीया फुलमतिया देवी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो। खोजीको क्रममा मृतकको घर नजिकै मकैबारीमा चप्पल र साडी भेटिएपछि प्रहरीलाई शंका लागेर अनुसन्धान अगाडि बढाइएको थियो।
विद्युत् तार फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गहिर्याइएको र अनुसन्धानकै क्रममा घटनास्थलदेखि झन्डै ४ किलोमिटर उत्तर रामलाल साझेदारी वनमा खाल्डो खनी गाडिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिनुभयो।
प्रहरीले बिहीबार साँझ शव फेला पारेपछि अनुसन्धानलाई तीव्र बनाउँदै अभियुक्तहरूको खोजी गरेको थियो। पक्राउ परेका दुबै व्यक्तिले आफ्नै गल्तीबाट महिलाको ज्यान गएको स्वीकार्दै डरका कारण शव जंगलमा लगेर गाडेको बताएका छन्। “जंगली बँदेल मार्नको लागि तार लगाएका थियौं, तर त्यसैबाट महिलाको ज्यान गयो,” अभियुक्त विश्वकर्माले पत्रकारहरूलाई बताएका छन्, “अब कानुनले जे गर्छ, स्वीकार्छौं।”
मृतक बेपत्ता भएको पाँच दिनपछि मात्रै प्रहरीमा उजुरी पुगेको भए पनि प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राखी शव फेला पार्न सफल भएको हो।
हाल दुबै अभियुक्तलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।