आरएन पटेल।
रौतहट,जेठ ११ गते।
रौतहट जिल्लासहित मधेश प्रदेशका विभिन्न भागमा अघोषित लोडसेडिङले सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मका उपभोक्ता संकटमा परेका छन् । विद्युत आपूर्तिमा आएको चरम अनियमितताका कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
रौतहट, बारा र सर्लाही जिल्लामा विद्युत कहिले आउने र कहिले जाने भन्ने निश्चित नभएपछि उद्योगी, व्यवसायी, किसान तथा विद्यार्थी सबै तह प्रभावित भएका छन् । कतै घटी भोल्टेजले समस्या सिर्जना गरिरहेको छ भने कतै विद्युत प्रवाह भइरहेकै बेला उपकरण जलेर ठूलो क्षति भइरहेको छ ।

पश्चिमी रौतहटका किसानहरू चैते धान खेतीमा सिंचाइ गर्न नसक्दा चिन्तित छन् । बौधिमाई नगरपालिका–२ का किसान रामएकवाल राउतले १२ कट्ठा खेतमा धान खेती गरेका छन् । तर, बारम्बार लाइन जाने समस्या र कम भोल्टेजका कारण मोटर चलाउनसमेत नसकिएको गुनासो उनले गरेका छन् ।
उद्योग क्षेत्र पनि यस समस्याबाट उस्तै प्रभावित छ । गरुडा–४ का व्यापारी सन्तोष यादव भन्छन्, “न त समयमा बत्ती आउँछ, न त काम गर्न सहज हुन्छ। पसलका धेरैजसो सामान बत्तीबिनै चल्दैनन्। ग्राहकलाई फर्काउनुपर्ने बाध्यता छ ।”
फर्निचर उद्योग सञ्चालन गर्दै आएका परोहा नगरपालिका भेड़ियाहीका व्यवसायी राकेश शर्मा झन् बढी आक्रोशित देखिन्छन् । “लोडसेडिङ हुनु छ भने समय तालिका चाहियो, नत्र जानकारी दिई लाइन काट्नु पर्छ,” उनले भने । बारम्बार लाइन काटिँदा स-मिल्स बन्द हुन्छन्, मेसिनरी पार्टहरू बिग्रिन्छन्, र कामदारहरू बेरोजगारझैँ बस्न बाध्य हुन्छन् ।
यता, विद्यार्थीहरू पनि विद्युतको अनियमितताबाट तनावमा छन् । श्री नमूना माध्यमिक विद्यालय, गरुडाका विद्यार्थी प्रदीप साहले परीक्षा तयारी प्रभावित भएको बताए। “लाइट नहुँदा न पढ्न सकिन्छ, न त प्रशस्त तयारी गर्न,” उनले दुखेसो गरे ।

किसानहरूमा पनि बढ्दो आर्थिक भार छ । उपकरण जलेर नष्ट भएपछि मर्मत खर्चको भारीले उनीहरू थप मारमा परेका छन् । गरुडा क्षेत्रकै अर्का किसान विरेन्द्र प्रसाद भन्छन्, “धेरै उपकरण त बारम्बार बिग्रिएर फाल्नुपरेको छ, सिंचाइ नै ठप्प छ ।”
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले भने आधिकारिक रूपमा लोडसेडिङ नभएको दाबी गरेको छ । प्राधिकरणका अनुसार उपभोक्ताको संख्यामा अत्यधिक वृद्धि भएपछि प्रणालीले लोड थेग्न नसक्दा समस्या देखिएको हुन सक्छ । तर, यकिन कारण भने अझै पत्ता लगाउन सकिएको छैन ।
प्राधिकरणका इन्जिनियरहरूले विभिन्न प्राविधिक टोलीमार्फत पोल, इन्सुलेटर, कन्डक्टर जाँच गरिरहेका छन् । तर, समस्या समाधानको ठोस आधार अझै फेला परेको छैन् ।
यसबिच, दैनिक आवश्यकताअनुसार विद्युत आपूर्ति हुन नसक्दा कम भोल्टेजको समस्या झनै चर्किएको छ ।
निष्कर्षमा, अघोषित लोडसेडिङले रौतहट जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । नियमित सेवा दिन नसकेको प्राधिकरणले यथाशीघ्र समाधान खोज्न नसके, स्थिति अझ गम्भीर बन्ने देखिन्छ । उपभोक्ताहरूको आवाज सुन्ने र समस्या समाधानमा ठोस कदम चाल्ने समय अब ढिलो भइसकेको छ । अघाेषित लाेडसेडिङ्गलाई नेपाल विधुत प्राधिकरण माैलापुरका कार्यालय प्रमुख ई.दिनेश यादवले अस्विकार गरेका छन् । फल्ट भएपछि मात्र लाईन कट्ने गरेकाे उनकाे भनाइ छ ।
Sthaniya News
