Breaking News
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम उच्च अदालतबाट पाए सफाई

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम उच्च अदालतबाट पाए सफाई

रौतहट, जेष्ठ १४ गते २०८२।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगंज इजलासले सफाइ दिएको छ। चर्चित राजपुर बम कान्डका आरोपी आलमलाई बुधबार उच्च अदालतले सफाइ दिएको हो।


जिल्ला अदालत रौतहटले बम कान्डमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले सफाइ दिएको हो।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गरेको थियो। घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो। पक्राउ परेको ५ वर्ष ८ महिनापछि आलमले उच्च अदालतबाट सफाइ पाएका हुन्।
आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि लागेको थियो।


आलमले नै बम बनाउन लगाएको र बम बनाउने क्रममा विस्फोट भएपछि केही मानिस गम्भीर घाइते भएको आरोप लागेको थियो। घाइते भएकाहरूबाट बम बनाएको र विस्फोट भएको विषय बाहिरिने डरले आलमले घाइतेहरूलाई इँटाभट्टामा जिउँदै पोलेको आरोप रहेको थियो।
घटनाको केही समयपछि प्रहरीले घटनास्थलमा कुनै किसिमको विस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो। जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र पुनरावेदन सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी राय दिएका थिए। यिनै साक्ष्यहरूको आधारमा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले मुद्दा नचल्ने निर्णय गरेका थिए।
आलमविरुद्ध लामो समयसम्म कारबाही नहुँदा पीडितहरूले अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो।


सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा रौतहट प्रहरीले रौतहट क्षेत्र नम्बर २ का तत्कालीन सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको थियो। थुनछेक बहसपछि रौतहट जिल्ला अदालतले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीन ओटा मुद्दा दायर गरिएको थियो।
उच्च अदालत वीरगंज इजलासले आलमलाई सफाइ दिएसँगै रौतहटको राजनीतिक क्षेत्र तरंगित भएको छ। सामाजिक संजालमा सफाइको विषयले निकै चर्चा पाएको छ। जिल्लामा सबैतिर यही विषयले चर्चा पाएको देखिएको छ।साभार: नागरिकन्यूज डट नागरिक नेटवर्कडट कम

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*