आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ ।
राैतहटकाे राजपुर नगरपालिकाले आफ्ना किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउने लक्ष्यसहित सम्पूर्ण वडाहरूमा विधुतीकरण कार्य तीव्र गतिमा अघि बढाएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नगरपालिका नेतृत्वले तीन वर्षभित्र सबै वडामा विधुतीकरण सम्पन्न गर्ने लक्ष्य अनुसार काम गरिरहेकाे छ ।
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार नगरपालिकाकाे वडा नम्बर १ देखि ९ सम्मका क्षेत्रमा चालू आर्थिक वर्ष २०८१/०८२ मा मात्र ९५ लाख रुपैयाँ बजेट विनियोजन गरि विधुतीकरण कार्य सम्पन्न गर्न लागिएको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा ५५ लाख र २०८०/८१ मा ४० लाख बजेट छुट्याइएको थियो । तीन वर्षको अवधिमा कुल १ करोड ९० लाख रुपैयाँ लगानी गरी किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउन विधुतीकरण गरिएको हो ।
राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलमले भने, “हामीले कृषकहरूको सशक्तिकरण र उत्पादन वृद्धि हाम्रो प्रमुख लक्ष्य बनाएका छौँ । विधुतीकरणमार्फत सिचाइ सुविधा पु-याउँदा किसानहरूले वर्षभरि उत्पादन गर्न सक्नेछन्, जसले नगरको समग्र आर्थिक वृद्धिमा ठूलो टेवा पुग्नेछ ।”
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले पनि योजना कार्यान्वयनमा जनप्रतिनिधि र प्रशासनबीचको सहकार्य महत्वपूर्ण भएको उल्लेख गर्दै भने, “स्रोतको अधिकतम उपयोग गर्दै किसानहरूको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ । कृषिमा आत्मनिर्भर नगर बनाउने हाम्रो दीर्घकालीन दृष्टिकोण हो ।”
राजपुर नगरपालिकाले यस कार्यक्रमअन्तर्गत कृषकहरूलाई आवश्यक पर्ने स्थानहरूमा डेढ दर्जनभन्दा बढी ट्रान्सफर्मर जडान, विद्युत पोल र लाइन विस्तार तथा आवश्यक मर्मत सम्भारका कामहरू सम्पन्न गर्दै आएको छ । यसले सिँचाइ सुविधा नपाएर वर्षौँ बाँझै राखिएको जमिनमा अब उत्पादन सम्भव हुने विश्वास लिइएको छ ।साभार: स्थानीय पोष्ट साप्ताहिक
Sthaniya News
