आरएन पटेल,रौतहट,असार ०१ गते २०८२।
रौतहटमा पहिलो पटक राजपुर नगरपालिकाले यस वर्षको बजेट प्रस्तुत गरेको छ। जिल्लाको १८ स्थानीय तहहरु मध्ये राजपुर नगरपालिकाले यस वर्ष असार १ गते नै आफ्नो नवौं नगरसभाको निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ९ औं नगरसभाबाट बजेट प्रस्तुत गर्दै नगर प्रमुख डा. राजिक आलमले आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न प्रकारका अनुदानमार्फत बजेट निर्माण गरिएको जानकारी गराएका हुन ।

नगर प्रमुख डा. आलमका अनुसार बजेट निर्माण सीमित स्रोत साधनबीच गरिए पनि शिक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ । “प्रत्येक वडामा एउटा स्मार्ट विद्यालय स्थापना, बिद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता, नगरका निरक्षर नागरिकको तथ्यांक संकलन गरी साक्षरता कक्षा सञ्चालन, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना” लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेका नगर प्रमुख डा. आलमले जानकारी गराएका छन।

बजेट विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँट ११ करोड ४७ लाख,वित्तीय समानीकरण अनुदान ११ करोड ३९ लाख,सशर्त अनुदान २६ करोड ४२ लाख,विशेष अनुदान १ करोड ६४ लाख,समपूरक अनुदान २ करोड ८९ लाख रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाँट ८० लाख
समानीकरण अनुदान ७७ लाख ७८ हजार,सशर्त अनुदान ८० लाख,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख रहेको छ ।त्यसैगरी आन्तरिक आम्दानी ८५ लाख रुपैयाँ रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार यो बजेटले नगरको समग्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा समावेश योजनाहरू सम्पादन गर्न कार्ययोजना निर्माण गरी समयमै कार्यान्वयन गरिनेछ ।”

राजपुर नगरपालिकाकाे प्राथमिकतामा परेका अन्य कार्यक्रमहरू प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना,मुख्य सडक कालोपत्रे, सहायक सडक पक्की ढलान,घरघरमा एउटा बिरुवा अनिवार्य रूपमा लगाउने अभियान,बेरोजगारलाई सीपमूलक तालिम र न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगारको व्यवस्था रंगशाला निर्माण तथा प्रत्येक वडामा सामुदायिक मेलमिलाप केन्द्र सञ्चालन रहेको छ । त्यस्तै हालको बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गर्दै थप वडामा विस्तार,नगर सेवा मोबाइल एप समय अनुकूल अद्यावधिक,फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण रहेको छ ।
नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकालाई समावेशी, आत्मनिर्भर र जनमुखी बनाउने उद्देश्यले बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले सबै योजनाहरू नागरिकसँग सहकार्यमा कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
चिकित्सा क्षेत्रबाट आएका नगर प्रमुख डा. आलमले आफ्नो नगर क्षेत्र लगायत ग्रामीण भेगका सम्पूर्ण जनमानसको स्वास्थ्य अवस्थाको ख्याल गर्दै नव निर्मित राजपुर नगर अस्पताललाई एउटा नमूना अस्पताल बनाएर सेवा प्रदान गरिने प्रतिवद्धता गरेका हुन। ग्रामीण भेगका सर्वसाधारणहरुले मात्र प्राथमिक उपचारको अभावमा ज्यान गुमाइरहेको यस अवस्थालाई परिवर्तन गर्न आफु सक्दो सम्पूर्ण प्रयासमा विश्वस्त रहेको उनले बताएका छन।
Sthaniya News
