आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट – गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ । नगरसभा कार्यक्रमको अध्यक्षता नगरप्रमुख कन्थमनी जयसवालले गर्नुभएको थियो ।
सभामा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गर्नु भएको थियोे । प्रस्तुत बजेटलाई नगर सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
नगर प्रमुख जयसवालका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्गता, दलित तथा पिछडिएको वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । साथै, कृषकहरूको हितमा जारी कृषि सहुलियत नीतिलाई यस वर्ष पनि निरन्तरता दिइने जानकारी गराइएको छ ।
कार्यक्रमको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गर्नुभएको थियो । मन्त्री गुप्तालाई नगरप्रमुख जयसवालले ५१ किलोकाे मालाले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ भने नेकपा एमालेका जिल्ला इन्चार्ज अजय कुमार गुप्तालाई समन्वयको लागि विशेष धन्यवाद प्रकट गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले संघीय निजामती विधेयकमा कमा र फुलस्टप पनि परिवर्तन नहुने बताएका छन् । गरुडा नगरपालिकाको बजेट अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती विधेयक छिट्टै प्रतिनिधि सभामा पेश हुने र पास भएर राष्ट्रिय सभामा जाने बताएका छन् ।
नगर प्रमुखले उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारी तथा नगरवासी सबैलाई कार्यक्रम सफल बनाउन गरेको योगदानका लागि आभार व्यक्त गरिएको छ ।
मेयर जयसवालले गरुडा नगरको समुन्नत, समावेशी र समृद्ध भविष्य निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।
Sthaniya News
