रौतहट, कार्तिक १२ गते।
मौलापुरमा कार्तिक १३ गते तय गरिएको नेकपा एमालेको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम प्रहरी र प्रशासनको अनुरोधमा हालका लागि स्थगित गरिएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज कुन्दन कुशवाहाका अनुसार, दुई राजनीतिक दलबीच सम्भावित विवाद नहोस् र गौर हत्या काण्डजस्ता घटनाहरू पुनः दोहोरिन नदिने एमाले पार्टीको सिद्धान्त अनुरूप उक्त निर्णय गरिएको हो।
उनका अनुसार एमालेले पहिल्यै सार्वजनिक सूचना जारी गरी मौलापुर बजारमा कार्यक्रम गर्न तयारी गरेको थियो। तर, सोही दिन सोही स्थानमा आम जनता पार्टीले पनि आफ्नै कार्यक्रम घोषणा गरेपछि दुई पक्षबीच तनाव सिर्जना हुने आशंका बढेको थियो।
संभावित घटना वा दुर्घटना रोकथामका लागि रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (SP) लगायत ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षकको टोलीले एमाले नेतृत्वलाई कार्यक्रम स्थगित गर्न अनुरोध गरेको थियो। प्रशासनको सोही सल्लाहअनुसार एमालेले कार्यक्रम हालका लागि रोक्ने निर्णय गरेको कुशवाहाले जनाए।
“हाम्रो उद्देश्य कुनै पनि प्रकारको घटना गराउने होइन। गौर हत्या काण्ड फेरि नदोहरियोस् भन्ने हाम्रो पार्टीको अडान हो,” क्षेत्रीय इन्चार्ज कुशवाहाले भने। “त्यसैले हामी एक कदम पछाडि हटेका हौं। अब पार्टीको निर्णय अनुसार नयाँ मिति तय गरी पुनः कार्यक्रम सञ्चालन गरिनेछ।”
पार्टीका स्थानीय कार्यकर्ताले शान्तिपूर्ण राजनीतिक गतिविधि र आपसी सहमतिको वातावरणमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
Sthaniya News
