स्थानीय न्यूज
रौतहट, कार्तिक २६ गते।
फतुवा बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तियाका करार कर्मचारीहरूले म्याद नथपिएको विरोधमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन्। करार कर्मचारी संघर्ष समिति, बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तिया, रौतहटको आयोजनामा कार्तिक २६ गतेदेखि सुरु भएको आन्दोलन नगरपालिकाको कार्यालय अगाडि जारी छ।
आन्दोलनरत कर्मचारीहरूको भनाइ अनुसार, “जेनजी आन्दोलन” पश्चात गठन भएको सरकारले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि उनीहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन्। वडा नं. १ देखि ११ सम्मका वडामा कार्यरत करार कर्मचारी, विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा नगरपालिका कार्यालयका शाखा कर्मचारीहरूले आफूहरूले गर्दै आएको काम निरन्तरता पाउन म्याद थप गर्न माग गरेका छन्।
नगरपालिकामा हाल स्थायी कर्मचारी केवल १० जना र अस्थायी दरबन्दीमा ८ जना गरी जम्मा १८ जना कर्मचारी मात्र रहेका कारण सम्पूर्ण ११ वटै वडाको नियमित सेवा सञ्चालनमा कठिनाइ परेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ। उनीहरूले भनेका छन्, “वडाहरूमा अधिकांश करार कर्मचारी कार्यरत छन्, हामी आन्दोलनमा बसेपछि वडाको काम पनि ठप्प भएको छ।”
यसअघि पनि कर्मचारीहरूले ज्ञापनपत्रमार्फत म्याद थपको माग गर्दै समस्या समाधानको पहल गर्न आग्रह गरे पनि ठोस कदम नचालिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
यस विषयमा कार्यवाहक नगर प्रमुख अम्बेया खातूनले भनिन्, “कुनै पनि कर्मचारीलाई हटाउने मनसाय नगरपालिकाको छैन। मन्त्रालयबाट प्राप्त पत्राचार र कानूनी प्रक्रिया अनुसार आवश्यक सबै कार्य अघि बढाउन कार्यालय प्रमुखलाई निर्देशन दिइसकिएको छ।”
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अमवेया खातुनले करार, मासिक ज्यालादारी र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको आन्दोलनबारे प्रतिक्रिया दिँदै भनिन् -“मैले प्रमुख प्रशासकीय अधिकृतलाई नियम र प्रक्रियाअनुसार सबै कार्य गर्न निर्देशन दिएकी छु । तालाबन्दी कुनै पनि समस्याको समाधान होइन् । नगरपालिका संवाद र कानुनी बाटोबाट अघि बढ्छ।”
खातुनले भनिन् –“नगरपालिकाले कुनै पनि कर्मचारीको अधिकार खोस्ने निर्णय गरेको छैन् । निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हो, म्याद थप सम्बन्धी सम्पूर्ण कार्य प्रक्रिया म त्यसैअनुसार अघि बढाउन निर्देशन दिएकी छु।”
आन्दोलनरत कर्मचारीहरूले भने सम्बन्धित निकायमा केही प्रशासनिक जटिलता हुन सक्ने स्वीकार्दै, सकेसम्म छिटो समस्या समाधान गरी आफूहरूको म्याद थप गरियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
Sthaniya News
