Breaking News
बौधिमाई नपा-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न

बौधिमाई नपा-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न

स्थानीय न्यूज
रौतहट, मंसिर ६ गते।
रौतहटको बौधिमाई नगरपालिका-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। कोपवास्थित सामुदायिक भवनमा आज सम्पन्न निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा करिब ३४० जनाले आँखा स्वास्थ्य परीक्षण गराएका छन्।


एक दिने शिविरको अध्यक्षता वडा अध्यक्ष लक्ष्मी नारायण यादवले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव रहनुभएको थियो।
शिविर उद्घाटन गर्दै नगरप्रमुख यादवले आँखा स्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय भएकाले जनस्वास्थ्यमा सचेतना वृद्धि गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल रौतहटको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो।


स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल र सह-संयोजक राकेश प्रसाद यादवका अनुसार, शिविरमा आएका बिरामीमध्ये १४० जनामा मोतियाविन्दुको समस्या पाइएको छ। “शिविरमा करिब ४१ प्रतिशत बिरामीमा मोतियाविन्दु देखिनुले गाउँ-घरमा आँखा रोगको अवस्था चिन्ताजनक रहेको संकेत गर्छ,” स्वास्थ्य शाखा प्रमुख पटेलले बताए। उनका अनुसार उमेर बढ्नु, आँखासम्बन्धी जानकारीको कमी, आर्थिक अभाव, धुलो-धुवाँमा बित्ने दैनिक जीवनशैली, तथा अस्पतालसम्मको पहुँच न्यून हुनु मोतियाविन्दुका प्रमुख कारण हुन्।
गौर आँखा अस्पतालका प्राविधिक टोलीका अनुसार, शिविरमा पहिचान भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया यही पुरेनवा आँखा अस्पतालमा गराइनेछ। बिरामीलाई अस्पताल आवागमन सहज बनाउन गौर आँखा अस्पतालले मुफ्त बस सुविधा उपलब्ध गराउने जनाएको छ।
शिविरमा सहभागी सेवाग्राहीलाई निःशुल्क चस्मा पनि वितरण गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख पटेलले निःशुल्क स्वास्थ्य शिविरले गाउँघरका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउने भन्दै आगामी दिनमा अन्य वडामा पनि यस्ता स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।
शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी, नगर प्रहरी, स्वयंसेवक, बुद्धिजीवी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*