आरएन पटेल
राैतहट, मंसिर १८ गते।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नगर स्तरीय दोस्रो त्रैमासिक परीक्षा यही मंसिर २८ गतेदेखि सञ्चालन हुने भएको छ । नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा परीक्षा समिति अध्यक्ष तथा माँ सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद यादवको अध्यक्षतामा वडा नं. १० स्थित माध्यमिक विद्यालय दुधिअवामा बसेको बैठकले यही मंसिर २८ गते आइतबारदेखी परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

यसअघि नगरपालिकाको अव्यवस्थित शैक्षिक अवस्थालाई मध्यनजर गर्दै केही माध्यमिक विद्यालयहरूले मंसिर २२ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत मदन थापाको आग्रहपछि परीक्षा मिति एकरूपता कायम गर्न सबै विद्यालय सहमत भएका हुन् । मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यादवका अनुसार एक-दुई दिन पर्खिएपछि सबै विद्यालयले एउटै मितिबाट परीक्षा सञ्चालन गर्न सहमति जनाएको बताए ।

त्यसैगरी, मावि दुधिअवाका प्रधानाध्यापक रविन्द्र प्रसाद साहले आफ्नो विद्यालयले प्राविधिक रूपमा परीक्षा समितिलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा सहभागी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनका श्रीमान् तथा प्रदेश सांसद प्रत्यासी मोहमद सेराजले नगरपालिकाले परीक्षा सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै प्रश्नपत्र तथा उत्तरपुस्तिका नगरपालिकाले नै उपलब्ध गराउने बताए ।
बैठकमा नगरभरिका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सक्रिय उपस्थिति थियो र परीक्षा सुव्यवस्थित, एकीकृत तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
Sthaniya News
