Breaking News
रामपुर खाप छोटी भंसार नाका खोल्न माग गर्दै जारी अनसनमा डा. फिरदोश आलमको समर्थन

रामपुर खाप छोटी भंसार नाका खोल्न माग गर्दै जारी अनसनमा डा. फिरदोश आलमको समर्थन

आरएन पटेल, मंसिर २९ गते।
रौतहट क्षेत्र नं. २ का सांसद प्रत्याशी डा. फिरदोश आलमले परोहा नगरपालिकाको वडा नं ९ पर्ने रामपुर खापस्थित छोटी भंसार नाका खुलाउन माग गर्दै स्थानीयवासीद्वारा गरिएको अनिश्चितकालीन आमरण अनसन कार्यक्रममा ऐक्यबद्धता तथा समर्थन जनाउनुभएको छ।


समितिका अध्यक्ष तथा पुर्व शिक्षक हाजी शेख तजमुल हकका अनुसार आमरण अनसन आईतबार बेलुका करिब ३ बजेदेखि खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा सुरु गरिएको हो।
कोरोना महामारीको समयमा रामपुर खाप नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवत-जावत स्थानीय सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापले पूर्ण रूपमा बन्द गरेको थियो। तर कोरोना महामारी समाप्त भइसक्दा पनि हालसम्म सीमा नाका सञ्चालन गर्न आनाकानी भइरहेको स्थानीयको गुनासो छ।
रामपुर खाप छोटी भंसार नाका लामो समयदेखि बन्द रहँदा स्थानीय जनजीवन, व्यापार-व्यवसाय तथा आवागमनमा गम्भीर असर परेको भन्दै स्थानीयवासीले आन्दोलन गर्दै आएका छन्। भंसार नाका बन्द हुँदा साना व्यवसायी, किसान तथा सर्वसाधारण प्रत्यक्ष रूपमा मारमा परेको स्थानीयको भनाइ छ।


अनसनप्रति समर्थन जनाउँदै सांसद प्रत्याशी डा. आलमले छोटी भंसार नाका र चारपाङ्रे सवारीसाधनको आवत-जावत तत्काल पुनः सुचारु गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले नाका बन्द रहनु स्थानीय अर्थतन्त्रका लागि घातक भएको उल्लेख गर्दै यसले जनताको दैनिकी कठिन बनाएको बताउनुभयो।
डा. आलमले नेपाल सरकारलाई तत्काल पहल गरी भंसार नाका खोल्न, देखिएका समस्या यथाशीघ्र समाधान गर्न तथा जनताको आवाजलाई प्राथमिकताका साथ सम्बोधन गर्न जोडदार माग गर्नुभएको छ।
“जनताको जायज मागप्रति राज्य गम्भीर हुनुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीयको अधिकार र हितका लागि म निरन्तर साथमा रहनेछु।”
स्थानीयवासीहरूले पनि जनप्रतिनिधिहरूले आफ्ना समस्या गम्भीर रूपमा उठाइदिएकोमा खुशी व्यक्त गर्दै माग पूरा नभएसम्म अनसन जारी रहने चेतावनी दिएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*