Breaking News
मौलापुर नपाको उदाहरणीय कार्य,सामुदायिक विद्यालयमा दिवा खाजामा शुद्धता र नियमितता

मौलापुर नपाको उदाहरणीय कार्य,सामुदायिक विद्यालयमा दिवा खाजामा शुद्धता र नियमितता

आरके श्रीवास्तव,राैतहट,२९ गते मंसिर ।
रौतहट । देशभर सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला रौतहटको मौलापुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ। नगरपालिकाको शिक्षा शाखाले तयार पारेको शेड्युलअनुसार नियमित र गुणस्तरीय दिवा खाजा सञ्चालन हुँदै आएको छ ।
आईतवार मौलापुर नगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शुद्ध दुधबाट तयार गरिएको खिर खुवाइएको थियो । शेड्युलअनुसार कहिले खिर, कहिले चना–चिउरा, त कहिले मासु–चिउरा वा अण्डा खुवाइँदै आएको प्रधानाध्यापक चन्देश्वर साहले बताए । यसले विद्यार्थीको पोषण सुधारसँगै विद्यालयमा नियमित उपस्थिति बढाउन सहयोग पुगेको उनको भनाइ छ ।
नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहका अनुसार दिवा खाजा कार्यक्रम पारदर्शी र अनुशासित ढंगले सञ्चालन भइरहेको छ । “शिक्षा शाखाबाट जारी गरिएको तालिकाअनुसार नै दिवा खाजा सञ्चालन गरिरहेका छौं, गुणस्तरमा कुनै सम्झौता गरिएको छैन,” उनले भने।
दिवा खाजासँगै समग्र शिक्षामा गरिएको लगानी पनि उल्लेखनीय रहेको नगरप्रमुख रिना कुमारी साहले बताइन् । मौलापुर नगरपालिकाले कुल बजेटको करिब ४० प्रतिशत शिक्षा क्षेत्रमा खर्च गर्दै आएको उनले जानकारी दिइन् । “२०७४ सालमा निर्वाचित हुँदा नगरपालिकामा दुईवटा मात्र माध्यमिक विद्यालय थिए, अहिले ६ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्,” नगरप्रमुख साहले भनिन् ।
गुणस्तरीय शिक्षामा मौलापुर नगरपालिकाले मधेस प्रदेशमै उत्कृष्ट सम्मान प्राप्त गरिसकेको उनले उल्लेख गरिन् । शिक्षक अभावका विषयमा शिक्षा मन्त्रालयलाई पटक–पटक दरबन्दी अनुसार शिक्षक पठाइदिन आग्रह गरिए पनि पर्याप्त शिक्षक नआएपछि नगरपालिकाले आफ्नै स्रोतबाट एक सयभन्दा बढी नगर शिक्षक भर्ना गरी विद्यालय सञ्चालन गरिरहेको उनको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । हालसम्म १५० भन्दा बढी कक्षा कोठा निर्माण भइसकेका छन् । विद्यालयका लागि जग्गा खरिददेखि नमूना भवन निर्माणसम्मका काम सम्पन्न भई मौलापुरको शैक्षिक भौतिक पूर्वाधार देशमै नमूना बन्दै गएको नगरप्रमुखको दाबी छ ।
यसैबीच मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शिक्षामा पहुँच विस्तारका लागि प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिइएको बताए । उनका अनुसार सिभिल इन्जिनियरिङ र जियोमेट्रिक इन्जिनियरिङतर्फ डिप्लोमा तहको शिक्षा मौलापुर नगरपालिका अन्तर्गतका छोरी–बुहारीका लागि शतप्रतिशत निःशुल्क व्यवस्था गरिएको छ । “छात्रहरूका लागि भने २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिरहेका छौं,” प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
उनले विगतमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि ल्यापटप वितरण गरिएको जानकारी दिँदै डिजिटल शिक्षामा पनि नगरपालिकाले जोड दिएको स्पष्ट पारे ।
दिवा खाजा कार्यक्रमदेखि बजेट, छात्रवृत्ति, शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधारसम्म शिक्षाको सबै पक्षमा गरिएको लगानीका कारण मौलापुर नगरपालिका सामुदायिक शिक्षाको क्षेत्रमा अन्य स्थानीय तहका लागि अनुकरणीय उदाहरण बन्दै गएको स्थानीयको भनाइ छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*