Breaking News
राजपुर नगरपालिकाका मेयर डा. राजीक आलमले पुरा गरे प्रतिवद्धता

राजपुर नगरपालिकाका मेयर डा. राजीक आलमले पुरा गरे प्रतिवद्धता

आरएन पटेल, मंसिर २९ गते।
रौतहट। रौतहटको राजपुर नगरपालिकाका मेयर डा. मो. राजीक आलमले नगरबासीहरुसंग गरेको प्रतिवद्धता पुरा गरेका छन। निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार आलमले सोमबार विधिवत रुपमा नव निर्मित प्रशासकीय कार्यालय भवन समुद्घाटन गरि सेवा सुचारु गरेका छन। राजपुर नगरपालिका स्थित राजिक चोकमा नवनिर्माण सम्पन्न भएको प्रशासकीय कार्यालय भवनको सोमबार आयोजित एक विशेष समारोहबीच नगर प्रमुख डा. राजिक आलमले विधिवत् उद्घाटन गरेपछि सेवा प्रवाह सुरु गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख डा. आलमले नगरवासीको इच्छा, मेहनत र चाहनाअनुसार निर्धारित समयमै प्रशासकीय भवन निर्माण भई उद्घाटन गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। विगतमा सानो र अस्थायी कोठाबाट जेनतेन सेवा प्रवाह हुँदै आएको स्मरण गर्दै उनले आजदेखि आफ्नै भवनबाट सेवा सुरु हुनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको स्पष्ट पारे।

नगरको विकास क्रमशः अघि बढिरहेको उल्लेख गर्दै नगर प्रमुख आलमले शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार भएको बताए। आउँदा दिनमा प्राप्त नगरवासीको निरन्तर साथ र सहयोगले  राजपुर नगरपालिकालाई नमूना नगरपालिकाको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
५ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको जानकारी नगरपालिकाका लेखा अधिकृत मनोज कर्णले दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नयाँ प्रशासकीय भवनबाट सेवा सुचारु भएकोमा राजपुरवासीलाई बधाई दिँदै जनताको कामकाजमा कुनै पनि ढिलासुस्ती नगर्न सुझाव दिए। जनतालाई पायक पर्ने स्थानमा प्रशासकीय भवन निर्माण भएकाले विगतका झन्झटहरू क्रमशः हट्दै जाने र सेवा प्रवाह थप प्रभावकारी हुने उनले अपेक्षा व्यक्त गरे।

उद्घाटन समारोहमा नगर उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, नेपाल प्रहरीका एसपी रबिन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की, डा. कौशर आलम, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू, नगरपालिकाका बोर्ड तथा वडा सदस्यहरू, पालिकाका सम्पूर्ण कर्मचारीहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू र उल्लेख्य संख्यामा स्थानीय बासीहरूको उपस्थिति रहेको थियो।

साथै उद्घाटन समारोहका अवसरमा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्षहरू, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको राजपुर नगरपालिकाले जनाएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*