आरएन पटेल
रौतहट, पौष ७ गते ।
रौतहटको चन्द्रनिगाहपुरमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।
जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुर स्थित गौतम होटलमा सम्पन्न भएको सञ्चार माध्यमको अवस्था र चुनौती बिषयक कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका सञ्चार माध्यमको संचालक एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीका प्रमुख अतिथि प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले सबै पेशामा मापदण्ड निर्धारण हुन्छ तर राजनीति र पत्रकारितामा कुनै मापदण्ड निर्धारण नहुँदा दुबै निकै बदनाम रहेको चर्चा गरे ।
प्रदेशमा नीति नियम बनाउन लाग्दा विषयगत समितिका पदाधिकारीलाई राखेर नीति नियम निर्माण गर्दा निकै राम्रो एवं फलदायी हुने बताए ।

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष एवं कार्यक्रमका अध्यक्षता गरि रहनु भएका सुरेश यादवले पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार विधेयक तत्काल पारित गरी कार्यान्वयनमा लैजाने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
अध्यक्ष यादवका अनुसार दोस्रो कामका रूपमा पत्रकार अभाव र समस्यामा रहेकाहरूलाई तत्काल राहत दिन पत्रकार कल्याण कोष स्थापना गरिँदैछ । यो वर्षभित्रै यी दुवै काम सम्पन्न हुने उहाँको भनाइ थियो ।
तेस्रो प्राथमिकताका रूपमा उहाँले पत्रकारितामा लेखन संस्कृति कमजोर हुँदै गएको स्वीकार गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । “कपि-पेस्ट पत्रकारिता लेखन संस्कृतिको कमजोरीको उपज हो,” भन्दै यसलाई सुधार गर्न लेखन वृद्धि कोष स्थापना गरिने जानकारी दिनुभयो । मिडिया काउन्सिलले यस वर्ष यी तीनवटै काम सुरु गरिसकेको र अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले दुबै जिल्लामा सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पृष्ठभूमिबारे मिडिया काउन्सिलकी सदस्य बन्दना झाले अवस्था सुधार गर्न सकिने बताउनुभयो । गोष्ठीका क्रममा सहभागी मिडिया सञ्चालकहरूलाई समूहमा विभाजन गरी सुझाव संकलन गरिएको थियो । कार्यक्रममा राैतहट र सर्लाहीका मिडिया सञ्चालकहरूकाे सहभागीता रहेको थियो ।
कार्यक्रम सञ्चालन मिडिया काउन्सिल मधेस प्रदेशका प्रशासकीय प्रमुख ओमप्रकाश कटुवालले गर्नुभएको थियो ।
Sthaniya News
