आरएन पटेल, रौतहट, पौष ०८ गते।
रौतहटको परोहा नगरपालिकामा नगर प्रहरीका लागि सञ्चालन गरिएको एक महिनाको तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनको अवसरमा आयोजित सम्मान कार्यक्रममा नवप्रशिक्षित नगर प्रहरीहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।

कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ले नवप्रशिक्षित नगर प्रहरीलाई सम्मानपत्र प्रदान गर्दै जिम्मेवारीबोध, अनुशासन र नयाँ जोशका साथ सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ। उहाँले नगरको शान्ति-सुरक्षा, सेवा प्रवाह तथा नागरिकमैत्री प्रशासनमा नगर प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँदै इमानदार र अनुशासित भएर कार्य गर्न निर्देशन दिनु भएको छ।

सम्मान कार्यक्रममा नगर उपप्रमुख सुगान्धीगिरी, इन्जिनियर दिपेन्द्र यादव, नेपाली काँग्रेस रौतहटका जिल्ला सचिव रामचन्द्र गिरी, परोहा नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरू, सुरक्षाकर्मी, तालिमदाताहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागी अतिथिहरूले नवप्रवेशी नगर प्रहरीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले नगर प्रहरीको सक्रियता र दक्षताले स्थानीय तहमा सुशासन, सुरक्षा र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
तालिम सम्पन्न भएसँगै परोहा नगरपालिकामा नगर प्रहरीको सेवा थप सुदृढ हुने र नगरवासीले शान्ति-सुरक्षा तथा प्रशासनिक सेवामा सकारात्मक परिवर्तन हुन सक्ने अपेक्षा गरेका छन।
Sthaniya News
