वीरगञ्ज,वैशाख २० गते।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम शाखाका अध्यक्ष ओम प्रकाश खनाल को अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा शाखाका सचीव बिजय महतो,स-सचिव एसके चौरसिया लगायत महासङ्घका पदाधिकारी तथा पर्सा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रभातफेरी वीरगञ्जको घण्टाघर बाट सुरु भई शहरका विभिन्न मुख्य मार्ग परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओम प्रकाश खनाल ले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐन लगायत सञ्चारसम्बन्धी विभिन्न विधेयकप्रति महासङ्घको गम्भीर चासो रहेको बताए।
उनले सञ्चार क्षेत्रको आर्थिक संकट, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचना प्रवाहमा देखिएको रोकजस्ता समस्याले पत्रकारिता क्षेत्र थप संकटग्रस्त बनेको उल्लेख गरे।
अध्यक्ष खनालले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पेसागत संगठन, नागरिक अगुवा तथा सरोकारवालासँग ऐक्यबद्धताको अपेक्षा समेत गरेका छन्।
Sthaniya News
