- स्थानियान्यूज,रौतहट, बैशाख २० गते।
नेपाली कांग्रेसको नेता एवं पूर्व मन्त्री स्वर्गीय मो. अफताब आलमको जन्मभूमि रौतहट जिल्ला अन्तर्गत राजपुर नगरपालिका-४ राजपुर फरहदवामा नेपाली कांग्रेसद्वारा धन्यवाद ज्ञापन तथा “जरा अभियान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिभा गौतम प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको व्यापक सहभागिता देखिएको थियो। सहभागी वक्ताहरूले पार्टी संगठनलाई अझ सुदृढ बनाउने, जनतासँगको सम्बन्धलाई अझ मजबुत पार्ने तथा विकासका एजेन्डाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएका हुन।

नेताहरूले “जरा अभियान” मार्फत नेपाली कांग्रेसलाई गाउँ-गाउँसम्म पुऱ्याउँदै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका हुन। कार्यक्रमले पार्टीभित्र एकता, सक्रियता र जनसम्पर्क विस्तारमा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ। कार्यक्रम शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजक नेपाली कांग्रेस रौतहट क्षेत्र नं.२ का क्षेत्रीय समितिले जनाएको छ।

कार्यक्रममा रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. फिरदोश आलम, रौतहट सभापति तथा पूर्व अर्थ मन्त्री सुनिल कुमार यादव ( जितेन्द्र यादव ), परोहा नगरपालिकाको नगर प्रमुख शेख वकील, वरिष्ठ नेता मो. महताब आलम, नेता रामचन्द्र गिरी, महिला नेत्री अंजू झा तथा राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलम लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Sthaniya News
