Breaking News
खानेपानी समस्या चर्किएपछि बौधिमाई-३ का युवाहरूको ज्ञापनपत्र, समाधान नभए कडा आन्दोलनको चेतावनी

खानेपानी समस्या चर्किएपछि बौधिमाई-३ का युवाहरूको ज्ञापनपत्र, समाधान नभए कडा आन्दोलनको चेतावनी

आरएन पटेल,रौतहट,बैशाख २१ गते ।
रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वा ज्युताहीमा विगत चार महिनादेखि खानेपानी सेवा अवरुद्ध भएपछि स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर बनेको छ। समस्या समाधानका लागि बारम्बार आग्रह गर्दा पनि कुनै ठोस पहल नभएको भन्दै स्थानीय युवाहरू संगठित भई वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।


युवाहरूले बोरिङ धसिएको, खानेपानी व्यवस्थापन समितिको निष्क्रियता तथा जनप्रतिनिधिहरूको बेवास्ताका कारण समस्या झन् जटिल बनेको आरोप लगाएका छन्। उनीहरूले वडा अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमार्फत तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।
“मटिअर्वा ज्युताही संघर्ष समिति” को नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा तत्काल बोरिङ मर्मत गरी नियमित पानी वितरण सुरु गर्न, समस्या समाधान नभएसम्म वैकल्पिक रूपमा ट्यांकरमार्फत पानी उपलब्ध गराउन, वितरणको स्पष्ट समयतालिका लागू गर्न तथा प्राविधिक त्रुटि र चुहावट स्थायी रूपमा समाधान गर्न माग गरिएको छ।
यसैगरी, हालको खानेपानी व्यवस्थापन समिति विघटन गरी अहिलेसम्मको हिसाब-किताब सार्वजनिक गर्न र नयाँ समिति गठन गर्न समेत जोड दिइएको छ।
संघर्ष समितिका अध्यक्ष सिकितनारायण पटेल र सचिव श्रीनारायण यादवले ज्ञापनपत्र बुझाएको एक दिनभित्र माग सम्बोधन नभए लिखित रूपमा कारण स्पष्ट पार्न आग्रह गरेका छन्। अन्यथा, चरणबद्ध रूपमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।
स्थानीयवासीका अनुसार दैनिक जीवनमा अत्यावश्यक खानेपानी नहुँदा विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
यता, सम्बन्धित निकायले समस्या समाधानतर्फ चाँडो ध्यान नदिए स्थिति थप जटिल बन्न सक्ने देखिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*