रौतहट, बैशाख २१ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत विभिन्न मुद्दाका ४ जनालाई पक्राउ गरेको छ। यही बैशाख २० गते खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा रौतहटको देवाही गोनाही नगरपालिका–३ मा २०६६ फागुन २६ गते विशाल महतोलाई कुटपिट गरी घाइते बनाइ उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन्। उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सवारी ज्यान मुद्दामा २०८१ पुस २ गते मौलापुर नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय बनारसी राउत कुर्मीको मृत्यु भएको घटनामा संलग्न ३६ वर्षीय राम पुकार राय यादव पक्राउ परेका छन्। यस घटनाको पनि अनुसन्धान जारी रहेको छ।
यसैगरी, बैंकिङ कसुर मुद्दामा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका ४१ वर्षीय जितेन्द्र कुमार जयसवाल लाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।
यस्तै, फैसला कार्यान्वयन अन्तर्गत लागू औषध गाँजा मुद्दामा रौतहट जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ६५ वर्षीय सिकिन्द्र राय यादव लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्याल का अनुसार फरार प्रतिवादी पक्राउ अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने र कानुनी कारबाहीलाई निरन्तरता दिइने बताइएको छ।

Sthaniya News
