स्थानियान्यूज,रौतहट, बैशाख २२ गते ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनद्वारा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएको छ। भोजपुरा कमाण्ड, जिल्ला समितिको नेतृत्वमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सोमबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल समक्ष ज्ञापनपत्र बुझाएको छ ।

आन्दोलनले दशकौंदेखि जारी आर्थिक शोषण, सुदखोरी र अन्यायपूर्ण ऋण प्रथाका कारण किसान–मजदुरहरूको जीवन कष्टकर बनेको उल्लेख गर्दै तत्काल समाधानको माग गरेको छ । ज्ञापनपत्रमा सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नभएको, “अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग” मा परेका हजारौं उजुरीहरूमा कारबाही नभएको र पीडितहरू न्यायबाट वञ्चित भएको गुनासो गरिएको छ । साथै, सुदखोरहरूको प्रभावका कारण निष्पक्ष छानबिनमा बाधा पुगेको आरोप लगाइएको छ । आन्दोलनले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष ऐन निर्माण, न्यायाधिकरण गठन, सुदखोरको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा सहुलियतपूर्ण वित्तीय कार्यक्रम लागू गर्नुपर्ने लगायतका ६ बुँदे माग अघि सारेको छ । आन्दोलनका जिल्ला अध्यक्ष शिवशंकर महतोले मागहरू तत्काल सम्बोधन नगरिए पुनः सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन ।

Sthaniya News
