Breaking News
देवाही गोनाही नपाको उचिडिहमा चार कोठे दुई तल्ले विद्यालय भवन र कक्षा ९ को उद्घाटन सम्पन्न

देवाही गोनाही नपाको उचिडिहमा चार कोठे दुई तल्ले विद्यालय भवन र कक्षा ९ को उद्घाटन सम्पन्न

आरएन पटेल,रौतहट, वैशाख २३ गते।
रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित उचिडिह टोलमा रहेको श्री आधारभूत विद्यालयमा नव निर्मित चार कोठे दुई तल्ले पक्की भवन तथा कक्षा ९ को औपचारिक उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।


नगर प्रमुख प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल तथा शिक्षा संयोजक राजदेव रामले संयुक्त रूपमा रिबन काटी भवन उद्घाटन गरेका हुन्। बिन्देश्वरी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयलाई प्राथमिक तहबाट आधारभूत तहसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका प्रधानाध्यापक मुक्ती प्रसाद कुशवाहाले आफ्नो कार्यकालमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा उल्लेखनीय योगदान दिएका छन्। उनले निःस्वार्थ भावनाका साथ व्यक्तिगत लगानीसमेत गरी विद्यालयको स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
प्रअ कुशवाहाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त ३६ लाख रुपैयाँबाट भवन निर्माण सुरु गरिएको थियो। बजेट अभावका कारण निर्माण कार्य अधुरो रहन पुगेपछि उनले थप व्यक्तिगत लगानी गर्दै कुल ४५ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेका हुन्।


त्यसैगरी, विद्यालय विस्तारका लागि उनले आर्थिक वर्ष २०८१ मा स्थानीय नागेश्वर महतोसँग ८ लाख रुपैयाँमा एक कठ्ठा र देवीलाल महतोसँग ९३ हजार रुपैयाँमा सात धुर जग्गा खरिद गरी विद्यालयको भौतिक पूर्वाधार विस्तारमा योगदान दिएका छन्।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरवल कुशवाहको नेतृत्वमा निर्माण सम्पन्न भएको उक्त भवन अहिले पालिकाभित्रकै एक नमुना (मोडेल) विद्यालयको रूपमा विकसित भएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रअ कुशवाहाले शैक्षिक सत्र २०८२ देखि कक्षा ९ सञ्चालनमा आइसकेको जानकारी दिँदै अब यस विद्यालयमा कक्षा ९ सम्म अध्ययनको सुविधा उपलब्ध भएको बताए। साथै उनले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सोही विद्यालयमा भर्ना गराउन आग्रह गरे।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष उपेन्द्र साह, वडा नं. ६ का अध्यक्ष विष्णु दास, वडा नं. ९ का अध्यक्ष वीर बहादुर साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सशस्त्र प्रहरीका निरीक्षक दिलबहादुर नेपाली लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


नव निर्मित भवन र कक्षा ९ को सुरुवातसँगै विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*