Breaking News
राजपुर नगरपालिकाद्वारा सार्वजनिक सडक अतिक्रमण हटाउन ७ दिने सूचना जारी

राजपुर नगरपालिकाद्वारा सार्वजनिक सडक अतिक्रमण हटाउन ७ दिने सूचना जारी

आरएन पटेल, रौतहट, वैशाख २५ गते।
रौतहटको राजपुर नगरपालिकाले सार्वजनिक सडक तथा बाटो अतिक्रमण हटाउन सम्बन्धित सबै पक्षलाई ७ दिने सार्वजनिक सूचना जारी गरेको छ।
राजपुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सडक तथा बाटोहरूमा अवैध रूपमा पसल विस्तार गर्ने, घर तथा टहरा निर्माण गर्ने, संरचना बनाउने, पशु चौपाया बाँध्ने तथा विभिन्न सामग्री राखेर आवागमन अवरुद्ध गर्ने गतिविधि बढ्दै गएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार वडा नं. १ देखि ९ सम्मका विभिन्न सडक क्षेत्रमा केही व्यक्तिहरूले सार्वजनिक बाटो अतिक्रमण गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। यस्ता गतिविधि कानुन विपरीत रहेको जनाउँदै नगरपालिकाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र सार्वजनिक सडक तथा बाटोमा राखिएका सम्पूर्ण अवैध सामग्री, संरचना, टहरा, पशु चौपाया लगायत हटाउन तथा खाली गर्न अनुरोध गरेको छ।
नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाइएको नपाइएमा नगरपालिका कार्यालय आफैंले अवरुद्ध स्थान खाली गराउने प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र राज पन्तद्वारा हस्ताक्षर गरिएको उक्त सूचनामा सार्वजनिक सडकको संरक्षण र सहज आवागमन सुनिश्चित गर्न सबै नगरवासीलाई सहयोग गर्न आग्रह गरिएको छ।


About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*